काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत ९१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
आजै दिउँसो ३ गते बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ भदौ ३ गते भुक्तानी हुने राष्ट्र बैंकले सूचनामार्फत जानकारी दिएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । जसमा बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले बैंक तथा वित्तिय संस्थाहरूसँग निक्षेप ७९ खर्ब ७२ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । तर, यसबीच कर्जाको माग ५.७ प्रतिशत मात्र रहेकाले अझै प्रणालीमा लगानीयोग्य रकम १० खर्ब बढी थुप्रिएको छ। यसअघि केन्द्रीय बैंकले जेठ १ गते ४२ दिनको लागि ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।








कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्