काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा आज वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। दुवै पदमा ३/३ जना प्रत्याशी चुनावी मैदानमा छन्।
वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, हेमराज ढकाल र सुरकृष्ण वैद्य उम्मेदवार बन्दा कोषाध्यक्षका दाबेदारमा अम्बिकाप्रसाद पौडेल, मनिषलाल श्रेष्ठ र भक्त हमाल चुनावी प्रतिष्पर्धामा छन् ।
हालै सम्पन्न निर्वाचनमा एसोसिएट उपाध्यक्ष जितेका प्रबलजंग पाण्डेले ३ साता नबित्दै संस्थापन भन्दा फरक उम्मेदवार (रामचन्द्र संघाई) लाई अघि सारेर नयाँ गुट बनाएका छन्। यसैगरी, मुख्य प्रतिस्पर्धा अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन पाएका सुरकृष्ण वैद्य र निवर्तमान अध्यक्ष चन्द्र ढकाल तथा पूर्वअध्यक्ष चण्डीराज ढकालको समर्थन रहेका हेमराज ढकालबीच हुने आकलन गरिएको छ।
कोषाध्यक्षतर्फ त्रिपक्षीय प्रतिस्पर्धा भए पनि जुनसुकै गुटमा लोकप्रिय रहेका अम्बिकाप्रसाद पौडेलको पक्षमा अन्य उम्मेदवारको तुलनामा बलियो समर्थन देखिएको छ।
६ सदस्य कार्यसमितिमा मनोनित
यसैबीच, अध्यक्ष अञ्जन श्रेष्ठले केन्द्रीय कार्यसमितिमा ६ जना सदस्य मनोनित गरेका छन् । श्रेष्ठले महासंघको विधानअनुसार २ महिलासहित ७ जना मनोनित गर्नुपर्ने व्यवस्था रहेपनि एक जनाको पछि पदपूर्ति गर्नेगरी हालका लागि ६ जना सदस्यहरू कार्यसमितिमा चयन गरेका हुन्।
मनोनित हुनेहरूमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, दर्शना श्रेष्ठ, साहारा जोशी, नवीन रिजाल र गोकर्ण कार्की रहेका छन्।

















प्रतिक्रिया दिनुहोस्