काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अत्यधिक पैसा (अधिक तरलता) व्यवस्थापन गर्न आज थप १ खर्ब (१०० अर्ब) रुपैयाँ बजारबाट खिच्ने भएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार ६१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गर्दै अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल आह्वान गरेको हो । पछिल्लो समय बजारमा पैसा धेरै भएर ब्याजदर निकै तल झर्न थालेपछि केन्द्रीय बैंकले निरन्तर रूपमा बजारबाट पैसा खिच्दै आएको छ । यस नयाँ उपकरणसँगै केन्द्रीय बैंकले बजारबाट खिचेको कुल तरलता मौज्दात १० खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ पुगिसकेको छ ।
यो निक्षेप संकलन उपकरण ६१ दिन अवधिको हुनेछ। यसको सावाँ तथा ब्याज भुक्तानी आगामी साउन ६ गते दिइने केन्द्रीय बैंकले जनाएको छ । यसमा ‘प्रि–मच्योर’ (अवधि नपुग्दै) भुक्तानीको सुविधा नहुने बैंकले प्रस्ट गरेको छ ।
बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले यस भाग लिन पाउनेछन् । सहभागी बैंकहरूले बहु–ब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछन् । बैंकहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकम (१ खर्ब) सम्मको प्रस्ताव पेस गर्न पाउनेछन् । राष्ट्र बैंकका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गरिनेछ । बोलकबोल स्वीकृत भइसकेपछि सम्बन्धित बैंकको खातामा पर्याप्त रकम नभएमा उक्त संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलहरूमा सहभागी हुन प्रतिबन्ध लगाइने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यसरी संकलन गरिएको निक्षेप रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् । तर, यस रकमलाई वैधानिक तरलता अनुपात र सामान्य तरलता अनुपातमा भने गणना गर्न पाइनेछ । साथै, यस उपकरणलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा समेत प्रयोग गर्न सकिने सुविधा दिइएको सूचनामा उल्लेख छ ।














प्रतिक्रिया दिनुहोस्