काठमाडौं । नेपाल हस्तकला महासङ्घ, जिल्ला तथा प्रदेश परिषद्को आयोजनामा तीनदिने ‘हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी’ सुरु भएको छ।
महासङ्घले आज बालुवाटारमा आयोजना गरेको उक्त कार्यक्रमको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले शुभारम्भ गरे । उनले हस्तकला क्षेत्रको विकासलाई बागमती प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए । ‘नेपालको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको छ, हस्तकलामैत्री नीति र बजेट बनाउन प्रदेश सरकार लाग्नेछ’, मन्त्री श्रेष्ठले भन्नुभयो । बागमती प्रदेशभित्र उत्पादित हस्तकलाका सामानलाई बजारीकरण गर्न प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ थियो ।
नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले देशभर छरिएर रहेका जिल्ला सङ्घलाई एकीकृत गर्दे त्यहाँ उत्पादित सामग्रीलाई प्रदर्शनी गर्नका लागि मेला आयोजना गरिएको जानकारी दिए । उनले नेपालमा उत्पादित हस्तकला सामग्रीलाई स्वदेशमै प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । अध्यक्ष शाक्यले बागमती प्रदेशले मङ्सिर २८ गतेलाई हस्तकला दिवस मनाउनका लागि बागमती प्रदेशले घोषणा गरेकोमा स्वागत व्यक्त गरे ।
महासङ्घकी उपाध्यक्ष एवं मेलाकी संयोजक मलिका श्रेष्ठले कला र संस्कृतिको धनी नेपालमा उत्पादित हस्तकला सामग्रीको प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको जानकारी दिए । तीन दिनसम्म चल्ने मेलामा काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा र बागलुङलगायतका जिल्लामा उत्पादित हस्तकलाका ७० स्टल राखिएको छ ।
मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । मेला अवलोकनका लागि सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा मेलामा सहभागी सङ्घ संस्थालाई सम्मान गरिएको थियो ।

















प्रतिक्रिया दिनुहोस्