काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजल आसपासका बासिन्दा वर्षौंदेखि नियमित खानेपानी सेवाबाट वञ्चित छन्। राजधानीमा मेलम्चीको पानी वितरण भइरहे पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीका स्थानीय अहिले पनि ढुङ्गेधारा, कुवा र सार्वजनिक धाराको भरमा जीवनयापन गर्न बाध्य छन्।
मुहान क्षेत्रका बासिन्दाले नै खानेपानी नपाएको विषयमा स्थानीय तथा सङ्घीय जनप्रतिनिधिले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि समस्या समाधान हुन सकेको छैन। गत साता बसेको संसद्को खानेपानी तथा पूर्वाधारसम्बन्धी समितिको बैठकमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर क्षेत्रमा खानेपानी समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा आपूर्ति हुन नदिने चेतावनी दिएका थिए।
शनिबार पाण्डेले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रतिनिधिसँग छलफल गर्दै स्थानीयको समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिएका छन्।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट २७.५ किलोमिटर सुरुङमार्फत सुन्दरीजल ल्याइने मेलम्चीको पानी यहीँ प्रशोधन गरी उपत्यकाका विभिन्न क्षेत्रमा वितरण गरिन्छ। वाग्मती नदीको पानी पनि सुन्दरीजलबाट प्रशोधन गरी राजधानीमा वितरण हुँदै आएको छ। तर, पानीको मुख्य स्रोतस्थल आसपासका बासिन्दाले भने नियमित र स्वच्छ खानेपानी पाउन सकेका छैनन्।
कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासकी सावित्री सापकोटाका अनुसार १० लिटर खानेपानीका लागि गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारस्थित सार्वजनिक धारासम्म करिब आधा घण्टा पैदल हिँड्नुपर्ने र पानी भर्न दुई घण्टासम्म पालो कुर्नुपर्ने बाध्यता छ। धारामा दैनिकजसो लामो लाइन लाग्ने गरेको उनले बताइन्।
सोही क्षेत्रका केशवप्रसाद पुडासैनीले नगरपालिकाले विभिन्न खानेपानी आयोजना सम्पन्न गरेको दाबी गरे पनि दिगो व्यवस्थापन अभावका कारण संविधानले सुनिश्चित गरेको स्वच्छ खानेपानीको अधिकारबाट स्थानीय वञ्चित भएको गुनासो गरे।
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले आफ्नै बजेटबाट आवश्यक पाइप बिछ्याएर केयुकेएललाई हस्तान्तरण गरे पनि अपेक्षाअनुसार पानी वितरण हुन नसकेको स्वीकार गरे।
स्थानीयवासी प्रेम श्रेष्ठका अनुसार सुन्दरीजलस्थित पुरानो वाग्मती पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय क्षेत्रमा शुद्ध पानी वितरण प्रभावित भएको छ। उनले केन्द्रको शीघ्र मर्मत गरी स्थानीयलाई नियमित र स्वच्छ खानेपानी उपलब्ध गराउन माग गरे।
केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहले सुन्दरीजल क्षेत्रमा देखिएको समस्या पुरानो वितरण प्रणालीका कारण उत्पन्न भएको बताए। उनका अनुसार पञ्चायतकालमा निर्माण गरिएको पाइपलाइन अहिलेको जनघनत्व धान्न नसक्ने अवस्थामा पुगेको छ। नयाँ वितरण प्रणाली निर्माण गर्ने विषयमा सांसद पाण्डेसँग सहमति भएको उनले जानकारी दिए।
यसैबीच, सुन्दरीजलको वाग्मतीतर्फको पुरानो पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बौद्ध क्षेत्रसम्म वितरण हुने पानी धमिलो हुने गरेको स्थानीयवासी नोर्साङ शेर्पाले बताए। उनका अनुसार यस्तो पानी प्रयोग गर्दा कपडा राम्रोसँग सफा नहुने र नुहाएपछि शरीर चिलाउने समस्या समेत हुने गरेको छ। नागरिक समाजले एक दशकदेखि यो विषय उठाउँदै आए पनि सम्बन्धित निकायबाट प्रभावकारी सुनुवाइ नभएको उनको गुनासो छ। पूर्णप्रसाद मिश्र/रासस















प्रतिक्रिया दिनुहोस्