पोखरा । पोखरा महानगरपालिका–२ वरपाटनस्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा अग्निप्रसाद भुसाल सर्वसम्मत रूपमा चयन भएका छन्।
शनिबार सम्पन्न अभिभावक भेलापछि बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले भुसाललाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो। विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गौतम बिजुक्छेको अध्यक्षता तथा वडा अध्यक्ष दिवसमान प्रधानाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत सोमनाथ भण्डारीले सहजीकरण गरेका थिए।
शिक्षा ऐन, २०२८ को संशोधित व्यवस्थाअनुसार समितिमा थप गर्नुपर्ने एक सदस्य र रिक्त रहेको अर्को एक पदका लागि आयोजित अभिभावक भेलाले अग्निप्रसाद भुसाल र लालुप्रसाद अधिकारीलाई सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समितिको सदस्यमा चयन गरेको थियो। त्यसपछि बसेको समितिको बैठकले भुसाललाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।
अद्यावधिक विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष भुसालसँगै, गौतम बिजुक्छे (वडा प्रतिनिधि), लालुप्रसाद अधिकारी, मुना भुजेल के.सी. वसन्ती गिरी श्रेष्ठ र हरिप्रसाद गौंडेल (शिक्षक प्रतिनिधि) सदस्य रहेका छन् भने, सदस्य सचिवमा प्रधानाध्यापक वसन्तराज पाण्डे छन् ।
विद्यालयका प्रधानाध्यापक वसन्तराज पाण्डेको समन्वयमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमबहादुर गुरुङ तथा वडा सदस्य भिमकुमारी आलेको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक विष्णुप्रसाद तिमिल्सिनाले गरेका थिए।















प्रतिक्रिया दिनुहोस्