काठमाडौं। राहदानी विभागले नेपालको राहदानी इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको छ।
विभागले करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरी सेवा सञ्चालनमा ल्याएको जनाएको हो। विभागले आज जारी गरेको प्रेस विज्ञप्तिमा २०८३ असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा प्रदान गर्न सुरु गरिएको उल्लेख गरिएको छ।
विभागकाअनुसार यति ठूलो सूचना प्रविधि प्रणाली कार्यान्वयनपछि प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ देखिन सक्ने अवस्था स्वाभाविक रहेको विभागले जनाएको छ। यस्ता सम्भावित समस्यालाई मध्यनजर गर्दै विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिएको विभागले जनाएको छ। साथै, देखिएका समस्याको शीघ्र तथा दीर्घकालीन समाधानका लागि विभाग पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको पनि उल्लेख छ।
‘यस्तो बृहत् सूचना प्रविधि प्रणालीको कार्यान्वयन भएपछि सुरूवातका दिनहरूमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता, राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक हो,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राहदानी विभागले यस्ता सम्भावित अवस्थाको पूर्वतयारी स्वरूप विभागका प्राविधिक टोली एवं कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबीसै घण्टा उपलब्ध रही प्रणालीको निरन्तर अनुगमन, परीक्षण तथा सुधारमा खटिरहनु भएको छ।’
नयाँ प्रणालीको सुरुवाती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ। यसले प्रणालीलाई थप स्थिर, प्रभावकारी र सेवामैत्री बनाउन सहयोग पुग्ने विभागको विश्वास छ। विभागले राहदानी सेवासम्बन्धी सूचना तथा समाचारका लागि विभाग वा सम्बन्धित मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित जानकारीलाई मात्र आधार बनाउन पनि सेवाग्राहीलाई आग्रह गरेको छ।
नेपाली नागरिकलाई चुस्त, छरितो र विश्वसनीय राहदानी सेवा प्रदान गर्न विभाग सदैव प्रतिबद्ध रहने जनाएको छ।















प्रतिक्रिया दिनुहोस्