Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

बागलुङ–रुकुम पूर्व सिधा सडक सञ्चालन भएसँगै दुई जिल्लाको दूरी छोटियो

बागलुङ–रुकुम पूर्व सिधा सडक सञ्चालन भएसँगै दुई जिल्लाको दूरी छोटियो
विज्ञापन
Advertisement

ढोरपाटन (बागलुङ) । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्लाबीचको आवतजावत सहज भएको छ।

विज्ञापन
Advertisement
Advertisement

गत फागुन १६ गते बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ट्र्याक जोडिएसँगै ढोरपाटन–तकसेरा सडक सञ्चालनमा आएको हो। सडक सञ्चालनपछि स्थानीयवासीलाई आवतजावत तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा ठूलो राहत पुगेको छ।

नेपालको एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको सडक निर्माण कार्य ढोरपाटन सिकार आरक्ष कार्यालयबाट अनुमति पाएपछि सम्पन्न भएको हो। यससँगै बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका तथा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाबीचको सिधा सडक सम्पर्क स्थापित भएको छ।

स्थानीयका अनुसार यसअघि ढोरपाटनबाट तकसेरा पुग्न दिनभर पैदल हिँड्नुपर्ने बाध्यता थियो। अहिले भने सवारीसाधनमार्फत छोटो समयमै यात्रा गर्न सकिने भएको छ। सडक सञ्चालनले दुई जिल्लाबीच रहेको रोटीबेटी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै व्यापारिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसअघि तकसेराका बासिन्दाले मध्यपहाडी लोकमार्ग हुँदै लामो दूरी पार गरेर यात्रा गर्नुपर्ने अवस्था थियो। अब तकसेरासहित आसपासका गाउँ सिधैँ बुर्तिवाङ बजारसँग जोडिएका छन्। बुर्तिवाङदेखि ढोरपाटनसम्म ३१ किलोमिटर र ढोरपाटनदेखि तकसेरासम्म ३७ किलोमिटर दूरी रहेको छ।

ढोरपाटन नगरपालिकाले चालु आर्थिक वर्षमा सडक ट्र्याक खोल्न १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। सडक सञ्चालनसँगै तकसेराका स्थानीयलाई बागलुङ हुँदै पोखरा र काठमाडौं पुग्न दूरी छोटिएको छ भने कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणमा समेत सहजता आउने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit