Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

गणेश नेपाली प्रकरण : सरकार, काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

गणेश नेपाली प्रकरण : सरकार, काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति
विज्ञापन
Advertisement

काठमाडौं । वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपाली  घटनाको निष्पक्ष छानबिनका विषयमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समितिले गठन भएको सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्ने सहमति भएको छ।

सहमतिअनुसार स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानून, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अघि बढाउनेछ। यस्तै, घटना भएको दिन फिल्ड अभ्यासमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई छानबिन आयोगको प्रतिवेदन तथा सिफारिसका आधारमा कारबाही प्रक्रिया अघि बढाइने गरी हालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने सहमति भएको छ।

काठमाडौं महानगरपालिकाले मृतक गणेश नेपालीकी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्ने तथा उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्ने सहमति जनाएको छ। साथै, आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराउने निर्णय आगामी कार्यपालिका बैठकबाट गरिने बताइएको छ। मृतकको अन्तिम संस्कार तथा काठमाडौंमा हुने काजकिरियासम्बन्धी सम्पूर्ण व्यवस्थापन महानगरपालिकाले गर्नेछ भने परिवारका सदस्यहरूको आवतजावत, बसोबास र काजकिरिया अवधिभरको खर्चसमेत महानगरपालिकाले व्यहोर्ने सहमतिमा उल्लेख छ। त्यसैगरी, मृतक परिवारका एकाघरका सदस्यहरूको स्वास्थ्य बीमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइनेछ।

पीडित परिवार तथा आफन्तजनले शव बुझिलिने, पोस्टमार्टमलगायतका कानुनी प्रक्रियामा सहयोग गर्ने तथा सद्गतको प्रक्रिया अघि बढाउने जिम्मेवारी लिने सहमति पनि भएको छ। आत्मदाह प्रयास गरेका नेपालीको शुक्रबार उपचारका क्रममा वीर अस्पतालको बर्न युनिटमा निधन भएको थियो ।

यी हुन् त्रिपक्षीय सहमतिका बुँदाहरू : 

१. यस घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नेछ ।

२. स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानून, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ ।

३. घटना घटेको दिन उक्त घटनास्थलमा फिल्ड अभ्यासमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदन र सिफारिस बमोजिम जाने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लेखी पठाउने ।

४. काठमाडौं महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयअनुसार मृतककी श्रीमतीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ । साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइनेछ । यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वय गर्नेछन् ।

५. काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइनेछ ।

६. मृतकको अन्तिम संस्कारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौंमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौं महानगरपालिकाबाट मिलाइनेछ ।

७. पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोष्टमार्टम)  लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइनेछ ।

८. मृतकका एकाघरका परिवारजनको आवतजावत ९यातायात० खर्च एवं काठमाडौंमा काजक्रिया अवधिभर रहँदा–बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्ध काठमाडौं महानगरपालिकाले गर्नेछ ।

९. पीडित परिवारका एकाघरका परिवारको स्वास्थ्य बिमाको कार्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit