काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी जुन ४ देखि चीनको प्रसिद्ध प्रविधि सहर शेनजेनका लागि सिधा उडान सेवा सुरु गर्ने भएको छ ।
कम्पनीले आफ्नो क्षेत्रीय सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ ‘सिलिकन भ्याली’ का रूपमा परिचित उक्त शहरमा नयाँ गन्तव्य थप गरेको हो।
हिमालय एयरलाइन्सले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शेनजेनको शेनजेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलका लागि हप्तामा दुईवटा सिधा उडानहरू सञ्चालन गर्नेछ।
कम्पनीको विज्ञप्तिअनुसार काठमाडौंबाट शेनजेन प्रत्येक मंगलबार र बिहीबार नेपाली समय २१ ः५० मा प्रस्थान गरी भोलिपल्ट बिहान ०४ः ३० (स्थानीय समय) मा शेनजेन पुग्नेछ। शेनजेनबाट काठमाडौं उडान भने प्रत्येक बुधबार र शुक्रबार स्थानीय समय ०५ ः५५ मा यात्रु प्रस्थान गरी बिहान ०८ः ३५ (नेपाली समय) मा काठमाडौं ओर्लिनेछन्।
यो उडान सेवालाई नेपालको नागरिक उड्डयन इतिहास र अन्तर्राष्ट्रिय हवाई सम्पर्कका दृष्टिले एक महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनमा नयाँ गन्तव्यहरू खोज्दै नियमित उडान अघि बढाउन कम्पनी सधैँ प्रतिबद्ध रहेको बताए । उनले यस ऐतिहासिक उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउनुका साथै पर्यटन र व्यापार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यात्रुहरूले यस उडानका लागि हिमालय एयरलाइन्सको टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू, कम्पनीको वेबसाइट तथा मोबाइल एप्लिकेसनमार्फत टिकट बुकिङ गर्न सक्नेछन् ।
हाल हिमालय एयरलाइन्ससँग ४ वटा विमानहरू (३ वटा एअरबस ३२) र १ वटा एअरबस ३१९ रहेका छन् । यसले संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीन जस्ता मध्यपूर्व र दक्षिण एसियाका प्रमुख राष्ट्रहरूमा उडान सञ्चालन गर्दै आएको छ ।

















प्रतिक्रिया दिनुहोस्