Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इलाममा ‘केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ आयोजना हुने

इलाममा ‘केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ आयोजना हुने
विज्ञापन
Advertisement

इलाम । पूर्वी नेपालको दिगो र जिम्मेवार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित इलाममा ‘केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ आयोजना हुने भएको छ। आगामी जेठ २३ र २४ गते इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा हुने सम्मेलनमा नेपाल र भारतका पर्यटन व्यवसायी, विज्ञ, जनप्रतिनिधि तथा सरोकारवालाहरू सहभागी हुनेछन्।

विज्ञापन
Advertisement
Advertisement

सम्मेलनको मुख्य आकर्षण नेपालकै सबैभन्दा होचो भूभाग झापाको केचना र विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघालाई एउटै पर्यटकीय करिडोरका रूपमा विकास गर्ने अवधारणा रहेको आयोजकले जनाएको छ। तराईदेखि हिमाली क्षेत्रसम्म फैलिएको जैविक विविधता, प्राकृतिक सम्पदा र सांस्कृतिक विशिष्टतालाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।

आयोजक समितिका अनुसार सम्मेलनमा जिम्मेवार पर्यटन, जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन, स्थानीय समुदायको सहभागिता तथा हरित अर्थतन्त्रका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबीच छलफल हुनेछ। सम्मेलनबाट पूर्वी नेपालको पर्यटन विकासका लागि दीर्घकालीन रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमकी अध्यक्ष सुशिला सापकोटाले केचनादेखि कञ्चनजंघासम्मको क्षेत्रलाई दिगो पर्यटनको नमुना गन्तव्यका रूपमा स्थापित गर्न सम्मेलन महत्वपूर्ण हुने बताइन्। उनका अनुसार यसले स्थानीय पर्यटनलाई बलियो बनाउनुका साथै नेपाल–भारत सीमापार पर्यटन सहकार्यलाई समेत नयाँ दिशा दिनेछ।

आयोजक समितिका सहसंयोजक देवीप्रसाद पौडेलले पर्यटकको संख्या बढाउने मात्र नभई पर्यटनबाट स्थानीय समुदायले प्राप्त गर्ने लाभ, प्राकृतिक सम्पदाको संरक्षण र सांस्कृतिक सम्मानलाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाइएको बताए। उनले तराई, पहाड र हिमाललाई जोड्ने यो अवधारणाले पूर्वी नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास व्यक्त गरे।

इलाम नगरपालिकाको नगर पर्यटन प्रवर्द्धन समितिको अगुवाइमा आयोजना हुन लागेको सम्मेलनमा होटल व्यवसायी संघ इलाम मुख्य प्रवर्द्धकका रूपमा रहेको छ। इलाम उद्योग वाणिज्य संघ, गाइड–पोर्टर–ड्राइभर क्लब तथा पर्यटन प्रवर्द्धन सरोकार समितिले सहआयोजनाको जिम्मेवारी लिएका छन्।

दुईदिने सम्मेलनमा नेपालका विभिन्न स्थानीय तहका प्रतिनिधि, पर्यटन उद्यमी, संस्कृति अध्येता तथा भारतका दार्जिलिङ, सिक्किम र पश्चिम बंगालका पर्यटन व्यवसायी, वातावरणविद् र सरकारी प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

कार्यक्रम अन्तर्गत जिम्मेवार पर्यटन र हरित अर्थतन्त्रबारे प्यानल छलफल, पूर्वी नेपालको भूगोल झल्काउने ल्यान्डस्केप ग्यालरी, फोटो तथा भिडियो प्रदर्शनी, रैथाने सांस्कृतिक प्रस्तुति, स्थानीय कला–हस्तकला प्रदर्शनी तथा इलामेली परिकारको प्रदर्शनी एवं बिक्री कक्ष सञ्चालन गरिनेछ। सहभागीहरूका लागि इलामका प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन भ्रमणसमेत व्यवस्था गरिएको छ।

पूर्वी पहाडी क्षेत्रमा बढ्दो अव्यवस्थित पर्यटन गतिविधि र वातावरणीय चुनौतीबारे बहस भइरहेका बेला आयोजना हुन लागेको यस सम्मेलनले दिगो, पर्यावरणमैत्री र समुदायमुखी पर्यटन विकासका लागि ठोस मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ। आयोजकहरूले सम्मेलनले पूर्वी नेपालको पर्यटनलाई नयाँ पहिचान र दीर्घकालीन विकासको आधार प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit