काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके देशको अर्थतन्त्र गतिशील हुने जनाएको छ।
बजेटबारे शुक्रबार एक विज्ञप्ति जारी गर्दै नाडाले समग्रमा बजेट सन्तुलित र भविष्य निर्माणमुखी रहेको जनाएको छ।
तर, बजेटले सवारी साधनमा थप कर वृद्धि गरेको भन्दै नाडाले असन्तुष्टि समेत पोखेको छ। नाडाले सवारी साधनहरूको मूल्य स्थिरताका लागि सरकारले नेपाली रुपैयाँमा भन्दा अमेरिकी डलरका आधारमा कर निर्धारण गर्नु थप व्यावहारिक हुने सुझाव दिएको छ।
नाडाले यसअघि मोटर पिक पावर (किलोवाट) का आधारमा महसुल दर कायम रहँदै आएकोमा यस पटकको बजेटले कारोबार मूल्यको आधारमा महसुल लगाउने व्यवस्था गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सरकारले विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने व्यवस्था गरेको छ। सरकारको वर्तमान कर नीतिले विद्युतीय लगायत इन्धनबाट चल्ने सवारी साधनहरू समेतको मूल्य बढ्ने देखिएको छ।’
नेपाल विश्व व्यापार संगठनको सदस्य भएको दुई दशक भइसकेको र कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको सन्दर्भमा सरकारले न्यूनतम रूपमा सवारी साधनहरूमा थप कर वृद्धि नगर्ने अपेक्षा व्यवसायीहरूको रहेको उल्लेख गर्दै नाडाले स्थिर कर नीतिको माग गरेको छ। सरकारले अतिरिक्त शीर्षकहरू मार्फत थप महसुल लगाउँदा प्रायः सबै किसिमका सवारी साधनको मूल्य बढ्ने दाबी नाडाले गरेको छ।
सडक पूर्वाधारका लागि ३ खर्ब विनियोजन हुनु सकारात्मक
बजेटले अटोमोवाइल क्षेत्रमा कर बढाएर केही निराशा थपे पनि सडक पूर्वाधारमा गरिएको ऐतिहासिक लगानीलाई भने नाडाले स्वागत गरेको छ। सडक पूर्वाधार निर्माणका लागि झण्डै ३ खर्ब रुपैयाँ बजेट विनियोजन गरिएको भन्दै नाडाले यसबाट अधुरा रहेका सबै सडक र राजमार्गहरू यथासमयमै पूरा गर्ने सरकारी प्रतिबद्धता स्पष्ट भएको जनाएको छ। द्रुत गतिको सडक पूर्वाधार निर्माणले समग्र नेपालको अटोमोवाइल व्यवसायलाई पनि गतिशील बनाउने विश्वास नाडाले गरेको छ।

















प्रतिक्रिया दिनुहोस्