दमौली । अचार बनाउने तालिम लिएपछि तनहुँका महिलाहरू उद्यमशीलतामा आकर्षित हुन थालेका छन्। महिला उद्यमी सङ्घ नेपाल तनहुँले सञ्चालन गरेको तालिमपछि सहभागी महिलाहरूले परम्परागत सीपलाई व्यवसायमा रूपान्तरण गर्दै आयआर्जनको माध्यम बनाउने योजना बनाएका छन्।
तालिमले अचार बनाउने विधिमात्र नभई उत्पादनको गुणस्तर, सरसफाइ, प्याकेजिङ, लेबलिङ तथा बजार व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरेको सहभागीहरूले बताएका छन्। उनीहरूका अनुसार तालिमपछि घरायसी कामका रूपमा सीमित रहेको अचार उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाउन सकिने विश्वास बढेको छ।
स्थानीय आरती खनालले तालिमले आफूहरूलाई अचार उत्पादनलाई व्यवसायका रूपमा विकास गर्न प्रेरित गरेको बताइन्। उनका अनुसार सही तरिकाले सीपको उपयोग गर्न सके घरमै बसेर पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिने सम्भावना देखिएको छ। यस्तै, लीला प्रधान श्रेष्ठले उत्पादनको स्वादसँगै गुणस्तर र आकर्षक प्रस्तुति पनि बजार प्रतिस्पर्धाका लागि महत्त्वपूर्ण हुने ज्ञान प्राप्त भएको बताइन्।
सहभागी कोपिला थापाले तालिमपछि आफ्नै क्षमताप्रति विश्वास बढेको उल्लेख गर्दै महिलाहरू आर्थिक रूपमा सक्षम भए परिवार र समाजमा उनीहरूको भूमिका अझ सशक्त बन्ने धारणा व्यक्त गरिन्। स्थानीयस्तरमा उपलब्ध आँप, कागती, मूला, खुर्सानी, लसुन, अदुवा र टिम्मुरलगायत सामग्री प्रयोग गरेर विभिन्न प्रकारका अचार उत्पादन गर्न सकिने भएकाले यसले स्थानीय कृषि उत्पादनको उपयोग र मूल्य अभिवृद्धिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
महिला उद्यमी सङ्घ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लले महिलाहरूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै व्यवसायसँग जोड्नुपर्ने बताइन्। प्रशिक्षक तुलसी शाह ले सहभागीलाई विभिन्न प्रकारका अचार बनाउने विधिदेखि गुणस्तर नियन्त्रण र प्याकेजिङसम्मका विषयमा प्रशिक्षण दिएकी थिइन्।

















प्रतिक्रिया दिनुहोस्