काठमाडौं । विश्व बालश्रमविरुद्ध दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। बालश्रम अन्त्यका लागि दुई दशकयता उल्लेखनीय प्रगति भए पनि विश्वभर अझै १३ करोड ८० लाख बालबालिका बालश्रममा संलग्न रहेको तथ्यांकले चुनौती कायम रहेको देखाएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को आह्वानमा सन् २००२ देखि प्रत्येक वर्ष जुन १२ मा यो दिवस मनाइँदै आएको छ। बालश्रमको समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाउने गरिएको हो।
आइएलओका अनुसार सन् २०२५ सम्म बालश्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन सकेको छैन। हालको प्रगतिको गति पर्याप्त नभएकाले आगामी पाँच वर्षभित्र बालश्रम अन्त्य गर्न वर्तमानभन्दा ११ गुणा तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याइएको छ।
आइएलओ र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का अनुसार सन् २००० मा विश्वभर २४ करोड ६० लाख बालबालिका बालश्रममा संलग्न थिए। उक्त संख्या घटेर हाल १३ करोड ८० लाखमा झरेको छ। तथापि, बालश्रम अन्त्यका लागि भइरहेको प्रगति अपेक्षाकृत सुस्त रहेको दुवै संस्थाको निष्कर्ष छ।
विश्वमा बालश्रमको सबैभन्दा ठूलो भार अफ्रिकामा रहेको छ। त्यहाँ विश्वका कुल बालश्रमिकमध्ये करिब दुईतिहाइ अर्थात् आठ करोड ७० लाख बालबालिका बालश्रममा संलग्न छन्। बालश्रमको दर २४ प्रतिशतबाट २२ प्रतिशतमा झरे पनि जनसंख्या वृद्धि, गरिबी, द्वन्द्व र कमजोर सामाजिक सुरक्षा प्रणालीका कारण प्रभावित बालबालिकाको संख्या उल्लेखनीय रूपमा घट्न सकेको छैन।
एसिया तथा प्रशान्त क्षेत्रमा भने पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार देखिएको छ। सन् २०२० यता बालश्रमको दर छ प्रतिशतबाट तीन प्रतिशतमा झरेको छ भने बालश्रममा संलग्न बालबालिकाको संख्या चार करोड ९० लाखबाट घटेर दुई करोड ८० लाखमा पुगेको छ।
यस्तै, ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रमा बालश्रमको दर स्थिर रहे पनि प्रभावित बालबालिकाको संख्या ८० लाखबाट घटेर करिब ७० लाखमा झरेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार कृषि क्षेत्र बालश्रमको प्रमुख केन्द्र बनेको छ, जहाँ कुल बालश्रमिकमध्ये ६१ प्रतिशत संलग्न छन्। सेवा क्षेत्रमा २७ प्रतिशत र उद्योग क्षेत्रमा १३ प्रतिशत बालबालिका कार्यरत छन्।
बालश्रम अन्त्यको अभियानलाई प्रभावकारी बनाउन युनिसेफ र आइएलओले जोखिममा रहेका परिवारका लागि सामाजिक सुरक्षा तथा बालभत्ता कार्यक्रम विस्तार गर्न, गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न, बाल संरक्षण प्रणाली सुदृढ बनाउन, मर्यादित रोजगारी सिर्जना गर्न तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गरेका छन्।
बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सरकार, निजी क्षेत्र, समुदाय तथा अन्तर्राष्ट्रिय साझेदारबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।
तस्बिरः युनिसेफ

















प्रतिक्रिया दिनुहोस्