काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षा र यातायात व्यवस्थापनप्रति सरकार तथा सम्बन्धित मन्त्रालय गम्भीर नभएको आरोप लगाएका छन्।
मंगलबार बसेको समितिको बैठकमा बोल्दै उनले सडक दुर्घटनाका कारण हुने मृत्युका घटनाले संसद्को आकस्मिक बैठकमा समेत प्राथमिकता पाइरहेको अवस्थामा सरकारले अपेक्षित चासो नदिएको बताएका हुन्। उनले सडक सुरक्षा विधेयक तयार भएको पाँच–छ वर्ष बितिसक्दा पनि संसद्मा प्रस्तुत हुन नसक्नु गम्भीर विषय भएको उल्लेख गरे।
गजुरेलले सडक सुरक्षाजस्तो संवेदनशील विषयमा मन्त्रालयको उदासीनता दुःखद रहेको भन्दै विधेयकको अवस्थाबारे स्पष्ट जवाफ दिन सरकारसँग माग गरे। उनका अनुसार दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात प्रणाली निर्माणका लागि आवश्यक कानुनी व्यवस्था अझै कार्यान्वयनमा आउन सकेको छैन।
उनले पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्थापन पक्ष प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै नीति तथा कार्यक्रममा हवाई, रेल, जल तथा सडक यातायातलाई समेटेर एकीकृत विकास प्रणालीको अवधारणा अघि सारिए पनि त्यसअनुसार काम हुन नसकेको बताए।
यातायात मन्त्रालयले विकास निर्माण र ठेक्कापट्टा व्यवस्थापनमै बढी ध्यान केन्द्रित गर्दा यातायात व्यवस्थापन र सडक सुरक्षाका विषय ओझेलमा परेको उनको भनाइ थियो। तीन खर्ब रुपैयाँभन्दा बढी बजेट रहेको मन्त्रालयले यातायात व्यवस्थापनलाई समेत प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
सभापति गजुरेलले वर्तमान पुस्ताको मात्र नभई भावी पुस्ताको सुरक्षाका लागि पनि सडक सुरक्षा, यातायात व्यवस्थापन र दुर्घटना न्यूनीकरणका कार्यक्रमलाई उच्च प्राथमिकता दिन आवश्यक रहेको धारणा व्यक्त गरे।

















प्रतिक्रिया दिनुहोस्