काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार २८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न बोलकबोल आह्वान गरेको हो।
केन्द्रीय बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ मार्फत आवेदन दिन सक्नेछन्। निक्षेप संकलन उपकरणको निष्कासन आजै गरिनेछ भने सावाँ तथा ब्याज भुक्तानी आगामी असार ३१ गते गरिने जनाइएको छ।
बोलकबोल प्रक्रियामा वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन्। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पेश गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ। बैंकका अनुसार समान ब्याजदरमा प्राप्त आवेदनहरूको कुल रकम निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो–राटा बेसिस’ मा बाँडफाँट गरिनेछ।
यस उपकरणमा गरिएको लगानीलाई बैंकहरूले अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाउने छैनन्। तर वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपात गणनामा भने समावेश गर्न सकिनेछ। साथै, निक्षेप संकलन उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था रहेको छ। यद्यपि, यसको भुक्तानी अवधि समाप्त हुनुअघि ‘प्रि–म्याच्योर’ भुक्तानी भने नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि राष्ट्र बैंकले नियमित रूपमा विभिन्न उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ। राष्ट्र बैंकका तथ्यांकअनुसार २०८३ असार २ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा राखेको रकम १० खर्ब ७९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
निक्षेप संकलन बोलकबोलका अतिरिक्त राष्ट्र बैंकले दैनिक रूपमा स्थायी निक्षेप सुविधा (स्ट्यान्डिङ डिपोजिट फेसिलिटी) समेत उपलब्ध गराउँदै आएको छ।















प्रतिक्रिया दिनुहोस्