काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालिच द ब्रिटिस कलेज (टिबिसी) ले ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बिएसी) बाट पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। यससँगै कलेजले नेपालमा बिएसी मान्यता कायम राख्ने एकमात्र शैक्षिक संस्थाको रूपमा आफ्नो स्थान पुनः पुष्टि गरेको जनाएको छ।
कलेजले जारी गरेको विज्ञप्तिअनुसार उक्त मान्यता सन् २०३० मे ३१ सम्म मान्य रहनेछ। मान्यता पुनः प्राप्तिका लागि बेलायतबाट आएको निरीक्षण टोलीले कलेजको शैक्षिक गुणस्तर, संस्थागत सुशासन, अध्यापन प्रणाली, विद्यार्थी सहायता सेवा, भौतिक पूर्वाधार, अनलाइन शिक्षण व्यवस्था तथा स्नातकहरूको रोजगारयोग्यतासम्बन्धी विभिन्न पक्षहरूको विस्तृत मूल्याङ्कन गरेको थियो।
सन् १९८४ मा स्थापना भएको ब्रिटिस एक्रिडिटेसन काउन्सिल उच्च तथा थप शिक्षण संस्थाहरूको स्वतन्त्र गुणस्तर मूल्याङ्कन गर्ने अन्तर्राष्ट्रिय निकायका रूपमा परिचित छ। बिएसी मान्यतालाई शैक्षिक उत्कृष्टता, पारदर्शिता र संस्थागत सुशासनको विश्वसनीय अन्तर्राष्ट्रिय सूचकका रूपमा लिइन्छ।
कलेजका एकेडेमिक डिन डा.डेक्लान पी. ब्याननले यस उपलब्धिले संस्थाको शैक्षिक प्रणाली, प्राध्यापकहरूको समर्पण र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धता प्रमाणित गरेको बताए।
त्यस्तै, ब्रिटिस कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले नेपालमा यस्तो मान्यता पुनः प्राप्त गर्नु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय असल अभ्यासलाई अझ सुदृढ गर्दै उच्च शिक्षाको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
बिएसीकी उपप्रमुख कार्यकारी अधिकृत लुसी फक्सले कलेजले स्वतन्त्र मूल्याङ्कन प्रक्रियाका सबै मापदण्ड सफलतापूर्वक पूरा गरेको उल्लेख गर्दै पुनः मान्यताका लागि बधाई दिएकी छन्।
कलेजले बेलायती विश्वविद्यालयहरूसँगको सहकार्यमा सञ्चालन गरिने अन्तर्राष्ट्रिय कार्यक्रम, उद्योगसँगको सहकार्य र करिअर–केन्द्रित शिक्षण अभ्यासमार्फत आफ्नो पहिचान थप सुदृढ भएको जनाएको छ।
कलेजले हालै फैलाइएका भ्रामक सूचना र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्याङ्कन प्रक्रियाबाट सफलतापूर्वक पुनः मान्यता प्राप्त गर्नु संस्थागत गुणस्तर र पारदर्शिताको प्रमाण भएको दाबी गरेको छ।
यस उपलब्धिले विद्यार्थी, अभिभावक, रोजगारदाता तथा शैक्षिक साझेदारबीच कलेजप्रतिको विश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्