Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

वर्षा नहुँदा कैलालीमा धान सुक्न थाल्यो, किसान चिन्तित

वर्षा नहुँदा कैलालीमा धान सुक्न थाल्यो, किसान चिन्तित
विज्ञापन
Advertisement

कैलाली । असार लागिसक्दा पनि पर्याप्त वर्षा नहुँदा कैलालीमा बोरिङको सहायताले रोपिएका धानका बिरुवा सुक्न थालेका छन्। सिँचाइका लागि भूमिगत पानीसमेत घट्न थालेपछि किसानको लगानी जोखिममा परेको हाे ।

विज्ञापन
Advertisement
Advertisement

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार यस वर्ष पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले बोरिङ, नहर र अन्य वैकल्पिक स्रोतको भरमा धान रोपाइँ गरिरहेका छन्। तर रोपाइँ सम्पन्न भएका खेतमा पनि पानीको अभावका कारण धानका बिरुवा पहेँलिन र सुक्न थालेपछि किसानको चिन्ता बढेको छ।

घोडाघोडी नगरपालिका–८ की किसान पार्वती केसीले बोरिङको पानीले रोपाइँ गरे पनि त्यसपछि वर्षा नहुँदा धानबाली सुक्न थालेको बताइन्। उनका अनुसार अहिले बोरिङमा पनि पर्याप्त पानी आउन छाडेकाले सिँचाइ गर्न समस्या भएको छ। सोही वडाका किसान डम्बर विष्टले अरूको बोरिङ प्रयोग गर्न प्रतिघण्टा पाँच सय रुपैयाँ तिरेर रोपाइँ गरेको भए पनि लगातार वर्षा नहुँदा धान जोगाउन कठिन भएको बताए। उनका अनुसार डिजेल र विद्युत् खर्च महँगो भएकाले पटक–पटक सिँचाइ गर्न सम्भव छैन।

किसान देशराज चौधरीले मल, बीउ, मजदुरी र रोपाइँमा ठूलो लगानी गरिसके पनि वर्षा नहुँदा सबै लगानी जोखिममा परेको बताए। भूमिगत पानीको सतह घटेकाले पहिले सहजै पानी दिने बोरिङबाट पनि अहिले पर्याप्त पानी आउन छाडेको उनको भनाइ छ। स्थानीय किसान रामु बूढाथोकीका अनुसार सुरुमा बोरिङको पानीले रोपाइँ सम्भव भए पनि अहिले मोटर घण्टौँ चलाउँदा पनि खेतमा पर्याप्त पानी पुग्न छाडेको छ। यस्तो अवस्था लामो समय रहिरहे धानबाली जोगाउन कठिन हुने उनले बताए।

खडेरीका बीच पनि किसान रोपाइँलाई निरन्तरता दिइरहेका छन्। घोडाघोडी नगरपालिका–३ का किसान भीम चौधरीले धेरैअघि राखिएको धानको बीउ छिप्पिन थालेकाले महँगो खर्च गरेर भए पनि बोरिङ र नहरको पानीको भरमा रोपाइँ गर्नुपरेको बताए। समयमै वर्षा भए मात्रै बाली जोगिने उनको अपेक्षा छ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लामा वार्षिक करिब ६३ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ, जसमध्ये करिब तीन प्रतिशत क्षेत्रमा चैते धान लगाइन्छ। यस वर्ष पर्याप्त वर्षा नहुँदा अधिकांश किसान सिँचाइका वैकल्पिक स्रोतमा निर्भर छन् भने रोपिएका धानका बिरुवा सुक्न थालेपछि उत्पादनमा असर पर्ने चिन्ता बढेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit