Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

प्रधानमन्त्रीको प्रचारपछि जुर्मुराएको डीडीसीलाई पर्याप्त बजार सरकारी क्यान्टिनमै छ, अब नीति बनाइदिए पुग्छ : चक्रवर्ती पौडेल

प्रधानमन्त्रीको प्रचारपछि जुर्मुराएको डीडीसीलाई पर्याप्त बजार सरकारी क्यान्टिनमै छ, अब नीति बनाइदिए पुग्छ : चक्रवर्ती पौडेल
विज्ञापन
Advertisement

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले गुणस्तरीय उत्पादनमार्फत उपभोक्ताको विश्वास जिते पनि प्रभावकारी ब्रान्डिङ, र बजार प्रवर्द्धनको अभावका कारण प्रतिस्पर्धामा पछि परेको स्वीकार गरेको छ। संस्थानले अब आधुनिक बजारको मागअनुसार आक्रामक मार्केटिङ अभियान सञ्चालन गर्दै गुमेको बजार हिस्सा पुनः हासिल गर्ने नयाँ रणनीति अघि सारेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं दुग्ध वितरण आयोजना, बालाजुका प्रमुख चक्रवर्ती पौडेलले डीडीसीले वर्षौंदेखि गुणस्तरका आधारमा उपभोक्ताको विश्वास कायम राखे पनि त्यसलाई व्यावसायिक ब्रान्डिङमा रूपान्तरण गर्न नसकेको स्वीकारे। उनका अनुसार संस्थानले लामो समयदेखि कुनै औपचारिक विज्ञापन अभियान सञ्चालन गरेको छैन। उपभोक्ताले सरकारी संस्था भएकाले गुणस्तरमा विश्वास गरेर उत्पादन खरिद गरिरहेका छन्, तर निजी डेरी उद्योगहरूले आक्रामक प्रचार, आकर्षक प्याकेजिङ र वितरण प्रणाली विस्तार गर्दा डीडीसी परम्परागत शैलीमै सीमित रह्यो।

पौडेलले नयाँ नेतृत्वसँगै विज्ञापन, होर्डिङ बोर्ड, डिजिटल प्रचार र बजार विस्तारका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। केन्द्रीय कार्यालयले यसका लागि आवश्यक बजेटसमेत छुट्याउने प्रक्रिया अघि बढाएको उनको भनाइ छ। ‘वास्तवमा हामी चुकेको क्षेत्र नै मार्केटिङ हो। आफ्ना उत्पादनको व्यवस्थित विज्ञापन गरेकै छैनौं । उपभोक्ताले सरकारी संस्था भएकाले गुणस्तरमा विश्वास गरेर उत्पादन खरिद गरिरहेका छन्। त्यही विश्वासकै आधारमा डीडीसी टिकिरहेको छ,’ चक्रवर्तीले भने ।

प्रधानमन्त्रीको पोस्टपछि याक चिजको बिक्री दोब्बर

पौडेलका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा डीडीसीको याक चिज उपभोग गरेको तस्बिर सार्वजनिक गरेपछि उक्त उत्पादनको बिक्री उल्लेख्य रूपमा बढेको छ। सार्वजनिक कार्यक्रम तथा मन्त्रिपरिषद्का बैठकमा पनि डीडीसीका दुग्धजन्य सामग्री राखेर बालेन सरकारले यसको ब्रान्डिङ थालेपछि त्यसको प्रभाव प्रत्यक्ष रूपमा महसुस भएको उनले बताए। उनका अनुसार त्यसपछि याक चिजको बिक्री पहिलेको तुलनामा करिब दोब्बर पुगेको छ, जसले प्रभावकारी प्रचार–प्रसारको आवश्यकता अझ स्पष्ट बनाएको छ। ‘प्रधानमन्त्रीज्यूले याक चिज खाइसकेपछि हाम्रो आउटलेटहरूमा पहिलेको तुलनामा लगभग दोब्बर अनुपातमा बिक्री भइरहेको छ। त्यसपछि पनि ब्रान्डिङ र मार्केटिङ कति आवश्यक रहेछ भन्ने अझ स्पष्ट भएको छ,’ पौडेलले बताए ।

डीडीसीलाई खुला दूध मुख्य चुनौती

डीडीसीका अनुसार बजारमा खुला रूपमा बिक्री हुने दूध अहिले सबैभन्दा ठूलो चुनौती बनेको छ। प्लास्टिकमा रबरले बाँधेर बिक्री गरिने खुला दूधले गुणस्तर मापदण्ड पालना गर्ने उद्योगहरूलाई अस्वस्थ प्रतिस्पर्धामा धकेलेको संस्थानको भनाइ छ। करिब एक दशकअघि प्याकेज्ड दूधको बजारमा डीडीसीको हिस्सा करिब ४० प्रतिशत रहेको अनुमान गरिए पनि अहिले त्यो करिब २० प्रतिशतमा झरेको छ। हालको अनुमानअनुसार करिब ६० प्रतिशत बजार खुला दूधले ओगटेको छ। यद्यपि यसबारे आधिकारिक सर्वेक्षण भने भएको छैन। उनले भने, ‘हाल ६० प्रतिशत बजार हिस्सा खुल्ला दूधले लिएको छ भन्ने केही सर्वेक्षण प्राप्त भएका छन् । डीडिीसीको हिस्सा जारमा २० प्रतिशत रहेको बताइए पनि यो अध्ययनकै विषय हो ।’

मोहीको माग उच्च, नयाँ प्याकेजिङ आउँदै

डीडीसीका अनुसार पछिल्लो समय स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै मोहीको माग उल्लेख्य रूपमा बढेको छ। सामाजिक कार्यक्रमहरूमा पनि चिनी मिसाइएका पेय पदार्थको सट्टा मोही प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएपछि यसको माग बढेको हो । उनले भने, ‘मोहीको डिमान्ड एकदमै धेरै छ । वास्तवमा काठमाडौं दुग्ध वितरण आयोजनाबाट डिमान्ड अनुसारको मोही दिन सकिराखेका छैनौं।’ तर, सीमित उत्पादन क्षमता र जनशक्तिका कारण मागअनुसार मोही उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै पौडेलले साउन १ गतेदेखि १ लिटर र ३०० मिलिलिटरका बोतलमा मोही बजारमा ल्याउने तयारी पूरा भएको जानकारी दिए।

विश्वास थियो, ब्रान्डलाई स्थापित गर्न सकेनौं

डीडीसीका उत्पादन वर्षौंदेखि नेपाली उपभोक्तामाझ गुणस्तरका कारण परिचित छन्। दूध, दही, घिउ, बटर, पनिर, याक, कञ्चन चिज देखि आइसक्रिमसम्मका उत्पादनलाई उपभोक्ताले विश्वासका साथ प्रयोग गर्दै आएका छन्। तर निजी डेरी उद्योगहरूले बजारमा आक्रामक प्रचार, आकर्षक प्याकेजिङ र वितरण प्रणाली विस्तार गरिरहँदा डीडीसी भने परम्परागत शैलीमै सीमित रह्यो। पौडेलका अनुसार संस्थानले गुणस्तरलाई प्राथमिकता दिए पनि त्यसलाई उपभोक्तामाझ प्रभावकारी रूपमा प्रस्तुत गर्न नसक्दा प्रतिस्पर्धामा पछि परेको हो। उनले भने, ‘हामीले उत्पादन बनायौं, बिक्री पनि भइरह्यो, तर बजारमा गएर आफ्नो ब्रान्डलाई स्थापित गर्ने काम गर्न सकेनौं।’

डीडीसीलाई सरकारकै साथ चाहिएको छ

डीडीसीले बजार विस्तारका लागि सरकारसँग नीतिगत सहयोगको पनि अपेक्षा गरेको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी, सरकारी अस्पताल, क्यान्टिन तथा अन्य सार्वजनिक निकायमा आवश्यक दुग्धजन्य सामग्री डीडीसीबाट खरिद गर्ने व्यवस्था गरिए संस्थानलाई स्थायी बजार प्राप्त हुने र किसानको दूध सहज रूपमा खपत हुने पौडेलको भनाइ छ। ‘नेपाली सेना, नेपाल प्रहरी, सरकारी अस्पतालका क्यान्टिन तथा अन्य सार्वजनिक निकायमा आवश्यक दुग्धजन्य सामग्री डीडीसीबाट खरिद गर्ने नीतिगत निर्णय सरकारले गरिदिए हामीले अरु बजार खोजिरहनै पर्दैन,’ उनले भने, ‘त्यहाँभित्रै ठूलो बजार छ, त्यहीको माग पूर्ति गर्न हामीलाई हम्मेहम्मे पर्छ । सरकारले यतातिर सहजीकरण गरिदिने हो भने डीडीसीको राम्रो बजार विस्तार हुन्छ ।’

किसानको भुक्तानीमा सुधार

संस्थानका अनुसार बजारमा डीडीसीको उत्पादनका विभिन्न सामग्री बढेसँगै किसानलाई गरिने भुक्तानीमा पनि सुधार भइरहेको छ। काठमाडौं दुग्ध वितरण आयोजनाअन्तर्गतका सहकारीहरूको फागुनसम्मको भुक्तानी भइसकेको छ भने हाल चैत, वैशाख र जेठ महिनाको मात्रै भुक्तानी बाँकी रहेको पौडेलले बताए। उनका अनुसार संस्थानको समग्र बक्यौता रकम पनि पहिलेको तुलनामा उल्लेख्य रूपमा घटेर करिब ४० करोड रुपैयाँभन्दा तल झरेको छ। ‘भुक्तानीको केसमा डीडीसीले रोकेको भनेर हामीलाई देखाइन्छ तर, केही ठूला प्राइभेट डरीहरुले हाम्रो नामले भुक्तानी रोकिराखेको अवस्ता छ,’ पौडेलले भने, ‘डीडीसीले आफ्नो दिनुपर्ने भुक्तानी गर्छ, ढिला भइपनि यो सरकारको दायित्व समेत भएकाले किसानले भुक्तानी नपाउने अवस्था आउँदैन। तर, निजी क्षेत्रले हाम्रो नाममा लाभ लिन्छन् कि भन्ने शंका छ, सरकारले छानबिन गर्नुपर्छ ।’

डीडीसीले आर्थिक संकट, पुराना उपकरण, उत्पादन लागत र बढ्दो प्रतिस्पर्धाका बीच पनि संस्थान विस्तारै सुधारको दिशामा अघि बढिरहेको दाबी गरेको छ। संस्थानका अनुसार अबको प्रमुख प्राथमिकता गुणस्तरीय उत्पादनसँगै प्रभावकारी ब्रान्डिङ, विज्ञापन र आधुनिक वितरण प्रणालीलाई सुदृढ बनाउँदै उपभोक्तासम्म सहज पहुँच विस्तार गर्नु हो। वर्षौंदेखिको उपभोक्ता विश्वासलाई आधुनिक बजार व्यवस्थापनसँग जोड्न सके डीडीसीले नेपाली दुग्ध बजारमा आफ्नो प्रभावशाली उपस्थिति पुनः स्थापित गर्न सक्ने विश्वास संस्थानको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit