काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
बिहीबार राष्ट्रिय सभागृहमा बसेको नगरसभाको १९औँ अधिवेशनको चौथो बैठकले कार्यवाहक प्रमुख सुनिता डंगोलले पेस गरेको कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो।
पारित बजेटमध्ये सञ्चित कोषमा व्ययभार पर्ने रकम २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ रहेको छ भने बाह्य व्ययभारतर्फ ७५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बैठकमा कार्यक्रम तथा बजेट, विनियोजन विधेयक २०८३ र आर्थिक विधेयक २०८३ माथि छलफल भएको थियो। छलफलका क्रममा नगरसभा सदस्यहरूले संशोधन प्रस्तावसहित सहरी व्यवस्थापन, सेवा प्रवाह र विकासका विभिन्न विषयमा सुझाव प्रस्तुत गरेका थिए।
नगरसभाले सदस्यहरूले दिएका संशोधन प्रस्ताव र सुझाव समेटेर बजेट तथा विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो।
यस्तै, विधायन समितिका संयोजक तथा वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले जनस्वास्थ्य ऐन, शिक्षा ऐन, विवाद निरुपण (कार्यविधि) ऐन, विपद् व्यवस्थापन ऐन र कर्मचारी सेवा ऐन संशोधनसम्बन्धी प्रस्ताव सभामा पेस गरेका छन्।
ती संशोधन प्रस्तावमाथि थप छलफल गर्न नगरसभाको पाँचौँ बैठक असार २३ गते दिउँसो ३ बजे बस्ने तय गरिएको छ।















प्रतिक्रिया दिनुहोस्