काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार कार्कीको मागबमोजिम तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले यस विषयमा अन्तिम फैसलाका क्रममा नै निर्णय गर्ने जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले सोही दिन एआईजी डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
सरकारको उक्त निर्णयविरुद्ध कार्कीले कात्तिक १९ गते सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । अधिवक्ता टीकाबहादुर कुँवरमार्फत पेस गरिएको उक्त रिट कात्तिक २० गते सर्वोच्चमा दर्ता भएको थियो । कार्कीले आफूलाई कानुनी आधार र प्रक्रिया पूरा नगरी आईजीपी पदबाट हटाइएको दाबी गर्दै सरकारको निर्णय बदर गर्न माग गरेका थिए । साथै, आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न र मनोजकुमार केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश जारी हुनुपर्ने मागसमेत गरेका थिए ।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले मंसिर २ गते सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । मंसिर ७ गतेका लागि तोकिएको सुनुवाइ म्याद तामेलीसम्बन्धी प्रक्रिया पूरा नभएको भन्दै सरेपछि बुधबार न्यायाधीशद्वय निरौला र पौडेलको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।
यद्यपि, कार्कीले सरकारको निर्णयविरुद्ध उठाएका कानुनी प्रश्नहरूको अन्तिम निरूपण भने मुद्दाको अन्तिम फैसलाबाट हुनेछ ।















प्रतिक्रिया दिनुहोस्