काठमाडौं । दुई देशबीच व्यापार, लगानी, पर्यटन, प्रविधि, शिक्षा तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ।
साधारणसभामा फिनल्यान्डका लागि नेपालस्थित राजदूत पेट्री पुभाक्का प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा चेम्बरका अध्यक्ष प्रज्वल जंग पाण्डेले सन् २०२२ मा स्थापना भएको चेम्बरले दुई देशबीच आर्थिक कूटनीति र व्यापारिक साझेदारी सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए। उनले नेपाली उत्पादनको फिनल्यान्डमा निर्यात प्रवर्द्धन, व्यापारिक सम्बन्ध विस्तार र लगानीका नयाँ अवसर सिर्जना गर्न चेम्बरले प्राथमिकता दिने बताए।
नेपाल र फिनल्यान्डबीच पर्यटन, प्रविधि, नवप्रवर्तन तथा दिगो विकासका क्षेत्रमा सहकार्यको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले फिनल्यान्डको प्रविधि र नवप्रवर्तनलाई नेपालको प्राकृतिक स्रोत, पर्यटन तथा व्यावसायिक सम्भावनासँग जोडेर नयाँ साझेदारी निर्माण गर्न सकिने बताए। कार्यक्रममा चेम्बरका मानार्थ सदस्य राजेश काजी श्रेष्ठले नेपाली उत्पादनलाई फिनल्यान्डको बजारमा स्थापित गर्न भएका प्रयासबारे जानकारी दिए। उनका अनुसार नेपाली चिया, गलैंचा, कफी, हस्तनिर्मित सामग्री, हर्बल साबुन, नेपाली कागज तथा जुत्तालगायत उत्पादनको बजार प्रवर्द्धनका लागि पहल हुँदै आएको छ। नेपाली कफी, नेपाली कागज र गोल्डस्टार जुत्ताको ब्रान्ड प्रवर्द्धनमा समेत प्रयास गरिएको उनले बताए।
श्रेष्ठले फिनल्यान्डको दूतावास तथा त्यहाँका व्यावसायिक संस्थासँग सहकार्य विस्तार गर्दै व्यापारसँगै शिक्षा, पर्यटन, प्रविधि र लगानीका क्षेत्रमा सम्बन्ध बलियो बनाउनुपर्नेमा जोड दिए। राजदूत पुभाक्काले नेपाल र फिनल्यान्डबीच व्यापारको मात्रा अपेक्षाकृत न्यून रहे पनि विस्तारको सम्भावना पर्याप्त रहेको बताए। नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय तथा उद्यमशीलताका क्षेत्रमा लगानीका अवसर रहेको उल्लेख गर्दै उनले फिनल्यान्डको प्रविधि, नवप्रवर्तन र दिगो व्यावसायिक अभ्यासबाट नेपालले लाभ लिन सक्ने बताए।
उनले स्वच्छ ऊर्जा, चक्रीय अर्थतन्त्र, शिक्षा र प्रविधिका क्षेत्रमा निजी क्षेत्रको सक्रिय सहभागिताले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे। साधारणसभाका अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै शिव ढकाललाई टुरिजम एक्सिलेन्स अवार्ड र व्यापार क्षेत्रमा योगदान पुर्याएको भन्दै उत्तम सिलवाललाई ट्रेड एक्सिलेन्स अवार्ड प्रदान गरिएको छ। त्यस्तै, चेम्बरलाई विशेष सहयोग र योगदान पुर्याएको भन्दै राजेश काजी श्रेष्ठलाई आउटस्ट्यान्डिङ सपोर्ट अवार्डबाट सम्मान गरिएको संस्थाले जनाएको छ। कार्यक्रमको समापनमा वरिष्ठ उपाध्यक्ष विश्वेश श्रेष्ठले सहभागी, अतिथि, सहयोगी तथा सदस्यहरूलाई धन्यवाद दिँदै साधारणसभाले नेपाल र फिनल्यान्डबीच व्यापारिक, आर्थिक तथा संस्थागत साझेदारी विस्तारमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे।















प्रतिक्रिया दिनुहोस्