Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

चैतयता १३ लाख लाइसेन्स र ३ लाख ७० हजार राहदानी ढुवानी गर्‍यो हुलाकले

चैतयता १३ लाख लाइसेन्स र ३ लाख ७० हजार राहदानी ढुवानी गर्‍यो हुलाकले
विज्ञापन
Advertisement

काठमाडौं । राहदानी, सवारी चालक अनुमतिपत्रदेखि शैक्षिक प्रमाणपत्र र स्वास्थ्य सामग्रीसम्म नागरिकको घरदैलोमा पुर्‍याउने सरकारी कुरियर सेवाका रूपमा हुलाक सेवा विभागको भूमिका विस्तार हुँदै गएको छ। सरकारी कागजात तथा सामग्रीको ढुवानी र वितरणलाई व्यवस्थित बनाउँदै विभागले पछिल्लो समय देशभर आफ्नो सेवा विस्तार गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

विभागका अनुसार २०८३ मङ्सिर २ गतेसम्म सरकारी कुरियर सेवामार्फत तीन लाख ७० हजार ९२५ राहदानी जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ। त्यस्तै, १२ हजार ४३३ राहदानी सेवाग्राहीको घरमै पुर्‍याइएको छ। सवारी चालक अनुमतिपत्र वितरणमा पनि हुलाकको संलग्नता उल्लेख्य देखिएको छ। हालसम्म १३ लाख ५३ हजार ९० वटा अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म ढुवानी गरिएको छ भने एक हजार १०६ वटा अनुमतिपत्र सेवाग्राहीको घरमै पुर्‍याइएको विभागले जनाएको छ।

सरकारी कार्यालय र सेवाग्राहीबीचको दूरी घटाउने उद्देश्यले सञ्चालन गरिएको यो सेवाले अब हुलाकलाई चिठीपत्र आदानप्रदान गर्ने परम्परागत संस्थाबाट सरकारी सेवा प्रवाहको महत्त्वपूर्ण साझेदारका रूपमा विकास गर्ने प्रयासलाई समेत गति दिएको छ। विभागले २०८२ चैत २३ गते सिराहाबाट सुरु गरेको घरदैलो सरकारी सेवा वितरण कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा विस्तार गरिसकेको छ। यस कार्यक्रमअन्तर्गत सरकारी कार्यालयसम्म पुगेर लिनुपर्ने कतिपय कागजात तथा सामग्री हुलाकमार्फत नागरिकको घरमै उपलब्ध गराउन थालिएको हो।

राहदानी र लाइसेन्सबाहेक विभागले २६५ वटा शैक्षिक प्रमाणपत्र ढुवानी तथा वितरण गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक हजार ७२९ नमुना ढुवानी गरिएको छ भने स्वास्थ्य बीमा बोर्डसँग सम्झौता भएका १८ अस्पतालका लागि १७१ बोरा स्वास्थ्य सामग्री पुर्‍याइएको छ। त्यस्तै, नेपाल टेलिकमका सिमकार्ड तथा अन्य सामग्रीतर्फ २२१ वटा सम्बन्धित कार्यालयसम्म ढुवानी गरिएको छ भने ४४ वटा सिमकार्ड सेवाग्राहीको घरमै वितरण गरिएको छ। राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका ४४ हजार १८५ थान सामग्री पनि हुलाकमार्फत ढुवानी गरिएको विभागको तथ्याङ्क छ।

सरकारी निकायसँग सहकार्य बढाउँदै हुलाक

सरकारी कागजात तथा सामग्रीको वितरणलाई प्रभावकारी बनाउन विभागले विभिन्न सरकारी निकाय, सेवा प्रदायक संस्था, अस्पताल र जिल्ला प्रशासन कार्यालयसँग सहकार्य विस्तार गरेको छ। राहदानी, चिठीपत्र तथा अन्य सामग्री जिल्ला प्रशासन कार्यालयसम्म पुर्‍याउन राहदानी विभाग र हुलाक सेवा विभागबीच २०८३ जेठ १९ गते सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार साउन १ गतेदेखि डाँक ढुवानी सुरु गरिएको हो।

त्यस्तै, सवारी चालक अनुमतिपत्र घरमै पुर्‍याउने प्रणालीलाई प्रभावकारी बनाउन हुलाकको पीआईटीएस प्रणाली र यातायात व्यवस्था विभागको ईडीएलभीआरएस प्रणालीबीच अन्तरआबद्धता गरिएको छ। यसका लागि हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच २०८३ असोज ६ गते त्रिपक्षीय समझदारी भएको थियो। प्रणालीबीचको अन्तरआबद्धताले अनुमतिपत्र ढुवानी तथा वितरण प्रक्रियालाई सहज बनाएको विभागको भनाइ छ। विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र घरमै उपलब्ध गराउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयसँग पनि २०८३ कात्तिक १७ गते हुलाक वस्तु ढुवानी तथा वितरणसम्बन्धी सम्झौता गरिएको छ। यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पूरक सम्झौता गरी प्रयोगशालासम्बन्धी सामग्री ढुवानीलाई प्रभावकारी बनाइएको छ। राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग २०८३ जेठ १ गते भएको सम्झौताअनुसार सामग्री ढुवानी भइरहेको छ।

नेपाल टेलिकमसँग सिमकार्डलगायत सामग्री वितरणका लागि २०८३ जेठ १८ गते सम्झौता भएको थियो। सिमकार्डबाहेक अन्य सामग्री विभाग मातहतका कार्यालयमार्फत ढुवानी गर्ने काम साउन १ गतेदेखि सुरु गरिएको हो। स्वास्थ्य बीमा बोर्डसँग पनि जेठ १८ गते सम्झौता गरी भोलिपल्टदेखि स्वास्थ्य सामग्री ढुवानी थालिएको विभागले जनाएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागसँग २०८३ साउन ८ गते जग्गाधनी प्रमाणपुर्जा तथा सरकारी कागजात ढुवानी र वितरणसम्बन्धी सम्झौता गरिएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँग हुलाक टिकट छपाइसम्बन्धी सम्झौतासमेत गरिएको छ।

दुर्गम क्षेत्रमा सेवा विस्तार, ढुवानी प्रणालीमा सुधार

सेवाको पहुँच विस्तारसँगै विभागले डाँक ढुवानी प्रणालीलाई थप व्यवस्थित बनाउने प्रयास पनि अघि बढाएको छ। हवाई यातायातको प्रयोग, वैकल्पिक मार्गको पहिचान र थप काउन्टर स्थापनालाई प्राथमिकता दिइएको छ। विभाग र यती एयरलाइन्सबीच २०८३ जेठ ८ गते भएको सम्झौताअनुसार आन्तरिक डाँक हवाई मार्गबाट ढुवानी भइरहेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि हवाई डाँक ढुवानीसम्बन्धी सम्झौता २०८३ असोज २१ गते नवीकरण गरिएको छ। विपद्का कारण नियमित मार्ग अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै पोखराबाट मुस्ताङ जाने डाँकका लागि मल्लाज हुँदै वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। त्यस्तै, दक्षिणी ललितपुर र मकवानपुर क्षेत्रमा डाँक ढुवानी तथा सेवा विस्तार सहज बनाउन गोदावरी नगरपालिका–चापागाउँमा हुलाक काउन्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

अन्तर्राष्ट्रिय मूल्याङ्कनमा पनि सुधारको दाबी

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले पछिल्लो समय हुलाक सेवाको प्रभावकारिता र पहुँच दुवै बढ्दै गएको बताइन् ।उनका अनुसार गाउँगाउँसम्म सेवा विस्तार हुनु, नागरिकको विश्वास बढ्नु, संस्थाले सम्मान प्राप्त गर्न थाल्नु र अन्तर्राष्ट्रिय कुरियर कारोबार बढ्नुले हुलाक सेवामा सुधार भइरहेको संकेत गर्छ। देशभित्र सरकारी कागजात तथा सामग्रीको ढुवानी र वितरण विस्तार हुनुका साथै अन्तर्राष्ट्रिय कुरियर कारोबारमा वृद्धि, विश्व हुलाक संघको मूल्याङ्कनमा नेपालको अंक सुधार तथा दुर्गम क्षेत्रमा सेवा विस्तारबापत अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त हुनुलाई विभागले उपलब्धिका रूपमा लिएको छ।

हुलाकलाई सरकारी कुरियरका रुपमा संस्थागत गर्ने तयारी

हुलाक सेवालाई सरकारी कुरियर सेवाका रूपमा संस्थागत र व्यवस्थित बनाउन कानुनी तथा प्रशासनिक सुधारको कामसमेत अघि बढाइएको छ। यसका लागि हुलाक सेवा ऐन संशोधन तथा परिमार्जनको प्रक्रिया अगाडि बढाइएको र ऐनको मस्यौदा तयार गरी मन्त्रालयमा पेस गरिसकिएको विभागले जनाएको छ।राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, नागरिकता प्रतिलिपि, स्वास्थ्य सामग्री, सिमकार्ड तथा अन्य सरकारी कागजात नागरिकको घरदैलोमा पुर्‍याउने सेवाको विस्तारले हुलाकको परम्परागत भूमिकालाई परिवर्तन गर्ने आधार तयार गरेको उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit