Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
विज्ञापन
Advertisement

बागलुङ । बागलुङ जिल्लाका ३६९ वटा खानेपानी मुहानमध्ये ७७ वटामा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘कोलिफर्म’ जीवाणु फेला परेको छ। धवलागिरि प्रादेशिक अस्पतालमा जन्डिसका बिरामी बढ्न थालेपछि प्रदेश जनस्वास्थ्य कार्यालयले विभिन्न स्थानका खानेपानी मुहानको परीक्षण गर्दा यस्तो अवस्था देखिएको हो।

विज्ञापन
Advertisement
Advertisement

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रयोगशाला प्रमुख डिल्ली आचार्यका अनुसार सदरमुकाम आसपासका गाउँका स्थानीयले प्रयोग गर्ने केही खानेपानी मुहानमा कोलिफर्म भेटिएको छ। उनका अनुसार कोलिफर्म दिसाजन्य जीवाणु भएकाले यस्तो पानी सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या हुन सक्छ। त्यसैले खानेपानी उपभोक्ता संस्था, वडा कार्यालय र स्थानीयलाई पानी शुद्धीकरण गरेर वा उमालेर मात्र प्रयोग गर्न आग्रह गरिएको छ।

आचार्यले अस्पतालमा दूषित पानीका कारण हुने बिरामीको संख्या बढेपछि करिब चार सय मुहानको पानी परीक्षण गरिएको र केही मुहानमा कोलिफर्म पुष्टि भएको बताए। उनका अनुसार यस्तो पानी सेवन गर्दा बिरामी पर्ने मात्रै होइन, ज्यानै जाने जोखिमसमेत रहन्छ।

तथ्यांकअनुसार गत आर्थिक वर्ष ३४१ स्थानको पानी परीक्षण गर्दा १२५ स्थानमा कोलिफर्म भेटिएको थियो। आर्थिक वर्ष २०८०/८१ मा २०८ मुहान परीक्षण गर्दा ७३ स्थानमा यस्तो जीवाणु फेला परेको थियो।

धवलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीका अनुसार कोलिफर्मयुक्त पानीका कारण ज्वरो, टाइफाइड, झाडापखाला र जन्डिसजस्ता रोग लाग्ने जोखिम बढ्छ। उनले वर्षायाममा मुहानमा फोहोर मिसिने सम्भावना बढी हुने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पिउन सुझाव दिए।

उनका अनुसार धवलागिरि प्रादेशिक अस्पतालमा दैनिक करिब ६०० बिरामी उपचारका लागि आउने गरेका छन्। तीमध्ये धेरैजसो दूषित पानीसँग सम्बन्धित स्वास्थ्य समस्याबाट प्रभावित भएको परीक्षणका क्रममा देखिएको उनले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit