काठमाडौं । लगातार दुईपटक आएको विनाशकारी हिमबाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएपछि प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको वित्तीय अवस्था थप कमजोर बनेको छ।
आयोजना बन्द हुँदा आम्दानीको स्रोत गुमाएको कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ४१ करोड ६२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा खुद नोक्सानी ६५ करोड ३४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटा घटेको देखिए पनि दोस्रोपटकको हिमबाढीपछि आयोजना अनिश्चितकालका लागि बन्द हुँदा आगामी दिनमा कम्पनीको आम्दानी र नगद प्रवाहमा थप दबाब पर्ने देखिएको छ ।
रसुवागढी जलविद्युत् आयोजना विगत एक वर्षभित्रै दुईवटा ठूला प्राकृतिक विपत्तिको चपेटामा परेको हो । २०८२ पुस देखि व्यावसायिक विद्युत् उत्पादन थालेको आयोजनामा पहिलोपटक २०८२ असार २४ गते तिब्बत क्षेत्रमा हिमताल फुटेर आएको बाढीले ठूलो क्षति पुर्याएको थियो । ल्हेन्दे नदी र भोटेकोशीमा आएको बाढीले नेपाल–चीन सीमास्थित आयोजनाको हेडवर्क्स, मितेरी पुल तथा विद्युत्गृहका उपकरणमा क्षति पुर्याएको थियो । त्यसपछि लामो समय उत्पादन बन्द भएको आयोजनामा मर्मतसम्भार तथा पुनर्निर्माणको काम गरी विद्युत् उत्पादन पुनः सुरु गरिएको थियो ।
पहिलो बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्दा सुरुमा २ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ पुनर्निर्माण लागत अनुमान गरिएको थियो । पछि उक्त अनुमान संशोधन गरी २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ पुर्याइएको कम्पनीले जनाएको छ । तर, बीमा दाबीअन्तर्गत हालसम्म ६ करोड ७५ लाख रुपैयाँ मात्र पेश्की प्राप्त भएको र बाँकी रकम प्राप्त हुने प्रक्रिया जारी रहेको कम्पनीले जनाएको छ ।
पहिलो बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा सुरक्षात्मक काम भइरहेकै बेला २०८३ भदौ १० गते आयोजनाको हेडवर्क्स क्षेत्रमा पुनः भीषण हिमबाढी आयो । दोस्रो विपत्तिले आयोजनाका भौतिक संरचनामा व्यापक क्षति पुर्याउनुका साथै ठूलो संख्यामा कर्मचारी तथा कामदारलाई बेपत्ता बनायो । बाढीले हेडवर्क्सका संरचना, साइट कार्यालय, कर्मचारी आवास, निर्माण सामग्री, सवारीसाधन तथा पक्की पुल बगाएको थियो । भूमिगत विद्युत्गृहभित्र रहेका इलेक्ट्रोमेकानिकल उपकरणसमेत भग्नावशेष र लेदोमुनि पुरिएका छन् । प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको छ । पक्की पुल तथा पहुँचमार्ग क्षतिग्रस्त भएपछि आयोजनास्थलसम्म पुग्ने सडक सम्पर्कसमेत विच्छेद भएको छ । वैकल्पिक पहुँच निर्माणका लागि बेलीब्रिज जडान गर्ने काम अघि बढाइएको कम्पनीले जनाएको छ ।
विद्युत् बिक्रीबाट ३० करोड ९८ लाख आम्दानी
दोस्रो हिमबाढी आउनुअघि चालु आर्थिक वर्षको साउनदेखि भदौ १० सम्म कम्पनीले विद्युत् बिक्रीबाट ३० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बाढीका कारण आयोजना बन्द रहेकाले विद्युत् बिक्रीबाट कुनै आम्दानी भएको थिएन । विद्युत् बिक्रीबाट भएको आम्दानीका आधारमा कम्पनीको कुल नाफा २५ करोड ४१ लाख रुपैयाँ रहेको छ। यस अवधिमा आयोजना सञ्चालन खर्च ४ करोड ६७ लाख रुपैयाँ र रोयल्टीबापत ८९ लाख रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । त्यस्तै, कर्मचारी खर्चमा १ करोड २४ लाख रुपैयाँ, प्रशासनिक खर्चमा ४ करोड ४६ लाख रुपैयाँ र ह्रासकट्टीमा २४ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । यसबाहेक वित्तीय खर्च अर्थात् ब्याजमा २८ करोड ९७ लाख रुपैयाँ र अन्य खर्चमा ७ करोड ७६ लाख रुपैयाँ खर्च भएको कम्पनीको विवरणमा देखिन्छ । उच्च ब्याज खर्च र अन्य सञ्चालनगत दायित्वका कारण विद्युत् बिक्रीबाट आम्दानी भए पनि कम्पनीले नाफा कमाउन सकेन ।
३ अर्ब ३८ करोड आम्दानी गर्ने लक्ष्य प्रभावित
कम्पनीले चालु आर्थिक वर्षमा ५६ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरी करिब ३ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरेको थियो । तर, भदौ १० गतेको दोस्रो हिमबाढीले आयोजनाका मुख्य संरचना तथा उपकरणमा क्षति पुर्याएपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ । आयोजना पुनः सञ्चालन हुने समय अनिश्चित रहेकाले कम्पनीको वार्षिक आम्दानी, नाफा र नगद प्रवाहमा गम्भीर असर पर्ने देखिएको छ ।
सञ्चित नोक्सानी झन्डै तीन अर्ब
लगातारको घाटाले कम्पनीको वित्तीय आधारसमेत कमजोर बनाएको छ। कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहे पनि सञ्चित नोक्सानी बढेर २ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ पुगेको छ । यससँगै कम्पनीको कुल इक्विटी घटेर ३ अर्ब ९६ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ । यसले कम्पनीको पुँजीगत आधारमा परेको दबाबलाई स्पष्ट देखाउँछ । असोज मसान्तसम्म कम्पनीको दीर्घकालीन कर्जा १३ अर्ब ८० करोड ८१ लाख रुपैयाँ र अल्पकालीन कर्जा ३ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ । कम्पनीको मुख्य ऋणदाता कर्मचारी सञ्चय कोषको पुँजीकृत ब्याजसहित कुल साँवा १२ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
आयोजनाको विद्युत् उत्पादन बन्द भएपछि नियमित किस्ता भुक्तानी गर्न कठिनाइ भएको र त्यसले थप ब्याज तथा हर्जानाको भार बढाएको कम्पनीले जनाएको छ। ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरणका लागि कर्मचारी सञ्चय कोषसँग छलफल भइरहेको पनि कम्पनीले उल्लेख गरेको छ। यसअघि पहिलो बाढीबाट भएको क्षतिको मर्मतसम्भार तथा वित्तीय व्यवस्थापनका लागि कम्पनीले चिलिमे जलविद्युत् कम्पनीबाट ३८ करोड ५० लाख रुपैयाँ, नबिल बैंकबाट ४९ करोड ८० लाख रुपैयाँ र कुमारी बैंकबाट ६३ करोड रुपैयाँ अल्पकालीन ऋण लिएको थियो ।
प्रतिशेयर आम्दानी २४ रुपैयाँभन्दा बढी ऋणात्मक
कम्पनीको वित्तीय सूचकसमेत कमजोर अवस्थामा पुगेका छन् । वित्तीय विवरणअनुसार वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ ५७ रुपैयाँ ९९ पैसा, प्रतिशेयर कुल सम्पत्ति ३३६ रुपैयाँ ९५ पैसा र तरलता अनुपात ०.१७ गुणा रहेको छ।मूल्य आम्दानी अनुपातसमेत २७.३९ गुणाले ऋणात्मक रहेको विवरणमा उल्लेख छ। असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २३ अर्ब ५ करोड ४३ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कुल चालु दायित्व ५ अर्ब २४ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यसरी हेर्दा प्राकृतिक विपत्तिका कारण उत्पादन बन्द हुनु, बीमा दाबीको रकम प्राप्त हुन ढिलाइ हुनु, पुनर्निर्माणको अनिश्चितता र उच्च ऋणको ब्याजभार रसुवागढी हाइड्रोपावरका प्रमुख वित्तीय चुनौती बनेका छन् । आयोजना पुनः सञ्चालनको समय र पुनर्निर्माणका लागि आवश्यक स्रोतको व्यवस्थापन नै कम्पनीको आगामी वित्तीय अवस्थाको निर्णायक पक्ष बन्ने देखिन्छ।















प्रतिक्रिया दिनुहोस्