काठमाडौं । विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न अब स्वघोषणा गर्नुपर्ने भएको छ । सरकारले नेपाल नागरिकता नियमावली पाँचौँ संशोधन, २०८३ मार्फत स्वघोषणाको औपचारिक ढाँचा निर्धारण गर्दै कार्यान्वयनमा ल्याएको हो ।
नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको विदेशको नागरिकता वा राहदानी नलिएको व्यक्तिले आमाले गर्ने स्वघोषणासहितको संशोधित नियमावली गृह मन्त्रालयले सार्वजनिक गरेको हो।
संशोधित नियमावलीले नागरिकता ऐन, २०६३ को दफा ५ को उपदफा ५ (ख) कार्यान्वयनका लागि आवश्यक स्वघोषणाको ढाँचा अनुसूची ७ (ग) मा समावेश गरेको छ। व्यवस्थाअनुसार नेपाली आमाबाट विदेशमा जन्मिएका, नेपालमा स्थायी बसोबास गरेका, विदेशी नागरिकता वा राहदानी नलिएका र बाबुको पहिचान नभएका व्यक्तिले आफू र आमामार्फत स्वघोषणा गर्नुपर्नेछ ।
स्वघोषणामा सन्तानले आफ्नो व्यक्तिगत विवरण, दस्तखत र औँठाछाप खुलाउनुपर्नेछ भने आमाले नागरिकता प्रमाणपत्र नम्बर, जारी जिल्ला, मिति र राष्ट्रिय परिचय नम्बरसमेत उल्लेख गर्नुपर्नेछ। दुवैले दिएको विवरण सत्य भएको र झुटो ठहरे कानुनबमोजिम जिम्मेवार हुने प्रतिबद्धतासमेत जनाउनुपर्ने व्यवस्था गरिएको छ। यसअघि ऐनमै नागरिकता पाउने व्यवस्था भए पनि स्वघोषणाको स्पष्ट ढाँचा नहुँदा प्रक्रिया अपूरो थियो ।

















प्रतिक्रिया दिनुहोस्