काठमाडौं। साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराउँदै लुम्बिनीले लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।
लुम्बिनीका लागि निरोशन डिकवेलाले अर्धशतकीय पारी खेले । उनले २७ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाए । यस्तै, दिलिप नाथले अविजित १० तथा कप्तान रोहितकुमार पौडेलले २७ बलमा एक चौकासहित २१ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले दुई तथा स्कट कुगेलेइन र हेमन्त धामीले एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा तीन चौका र एक छक्काको मद्दतमा ५२ रन बनाए ।
यस्तै, ईशान पाण्डेले ३३ बलमा तीन चौकासहित २७ रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान र शेर मल्लले दुई दुई तथा किशोर महतो र अभिशेष गौतमले एक एक विकेट लिए ।
आजको हारपछि सुदूरपश्चिमले अब बुधबार हुने काठमाण्डु गोर्खाज र चितवन राइनोजबीचको एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।















प्रतिक्रिया दिनुहोस्