काठमाडौं । स्थानीय बजारमा तिहारपछिको दोस्रो कारोबार दिन आइतबार पनि सुनचाँदीको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर दुई लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार मात्रै सुनको मूल्य एकैदिन १२ हजार ६०० रुपैयाँले घटेको थियो । त्यसअघि कात्तिक २३ गते सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो सँगै दुई कारोबार दिनमै सुन तोलामा १४ हजार १०० रुपैयाँले सस्तिएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार चाँदी प्रतितोला १०० रुपैयाँले घटेर तीन हजार ६०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । तिहारअघि निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य पर्वपछि भने लगातार ओरालो लागिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्