काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका कम्पनी तथा व्यक्तिलाई सम्मान गरेको छ ।
बैंक तथा वित्तीय संस्थातर्फ आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर तिरेबापत नबिल बैंक सम्मानित भएको छ । नेपालमा मंसिर १ गते मनाइने राष्ट्रिय कर दिवस यस वर्ष ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिकको साझेदारी’ भन्ने नाराका साथ आज मनाइएको हो । दिवसका अवसरमा आयोजित विशेष समारोहमा सरकारले कर प्रणालीमा उल्लेखनीय योगदान पुर्याउने करदातालाई सम्मान गरेको छ ।
निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सूर्य नेपाल सम्मानित भएको छ । एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनलले सम्मान प्राप्त गर्दा वस्तु निर्याततर्फ डाबर नेपाल र सूचना प्रविधि सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल पुरस्कृत भएका छन् । त्यस्तै, कृषि तथा पशुपन्छी क्षेत्रमा ओसिबी फुड्स, स्वास्थ्य सेवातर्फ नोबेल मेडिकल कलेज, पर्यटनतर्फ सोल्टी होटल र वस्तु तथा सेवातर्फ सीजी प्रालि सम्मानित भएका छन् । ऊर्जा क्षेत्रमा भोटेकोसी हाइड्रो तथा रेमिट्यान्सतर्फ आईएमई लिमिटेडले सम्मान पाएका छन् ।
व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् । वार्षिक ५० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनीतर्फ इम्पेरियल सेक्युरिटिज र विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल पुरस्कृत भएका छन् । बीमा क्षेत्रबाट एलआईसी नेपाल, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तथा लघुवित्त क्षेत्रबाट छिमेक लघुवित्त सम्मानित भएका छन्। नियमित कर योगदानका लागि हिमालयन डिस्टिलरी र प्रतिकूल परिस्थितिमा समेत नियमित आयकर दाखिला गरेको भन्दै भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरिएको छ ।
आयकर ऐनअनुसार बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था छ । राष्ट्रिय कर दिवसमा करदातालाई गरिएको सम्मानले देशको राजस्व प्रणालीमा निजी क्षेत्र तथा नागरिकको योगदानलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
यी हुन् सबैभन्दा धेरै कर बुझाउने १९ व्यक्ति तथा कम्पनी
1.निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: सूर्य नेपाल प्रालि
2. एकलौटी फर्ममध्ये: थर्ड आई इन्टरनेशनल
3. वस्तु निर्याततर्फ: डाबर नेपाल प्रालि
4. सूचना प्रविधि सेवा निर्याततर्फ: इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल
5. कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ: ओसीबी फुड्स एन्ड फिड्स प्रालि
6. बैंकिङ क्षेत्रतर्फ: नबिल बैंक लिमिटेड
7. स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड
8. पर्यटन व्यवसायतर्फ: सोल्टी होटल लिमिटेड
9. वस्तु व्यापारतर्फ: सीजी इम्पेक्स प्रालि
10. ५० करोडदेखि १०० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये: फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि
11. ऊर्जामूलक उद्योगतर्फ: भोटेकोशी पावर कम्पनी प्रालि
12. रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ: आईएमई लिमिटेड
13. व्यक्तिगत आयतर्फ: राजबहादुर शाह
14. मूल्य अभिवृद्धि करतर्फ: हिमालयन डिष्टिलरी लिमिटेड
15. ५० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये: इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड
16. विशेष उद्योगतर्फ: वरुण बेभरेज नेपाल प्रालि
17. जीवन बीमा क्षेत्रतर्फ: लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड
18. निर्जीवन बीमा क्षेत्रतर्फ: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड
19. लघुवित्त क्षेत्रतर्फ: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड















प्रतिक्रिया दिनुहोस्