काठमाडौं। संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र यतिबेला कीर्तिमानी गर्मीको लहरको चपेटामा परेको छ। अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले विगतका सबै अभिलेख तोड्दै नयाँ कीर्तिमान कायम गरेको छ।
प्रारम्भिक तथ्याङ्कअनुसार युटा राज्यको राजधानी साल्ट लेक सिटी तथा मोन्टाना राज्यको सबैभन्दा ठूलो सहर बिलिङ्समा तापक्रम १०९ डिग्री फरेनहाइट (४३ डिग्री सेल्सियस) पुगेको छ। मौसम सेवाले दुवै सहरमा १५० वर्षभन्दा बढी समयदेखि राखिएको तापक्रम अभिलेखमा यो अहिलेसम्मकै उच्च तापक्रम भएको जनाएको छ। यसअघि साल्ट लेक सिटीमा १०७ डिग्री फरेनहाइट (४२ डिग्री सेल्सियस) तथा बिलिङ्समा १०८डिग्री फरेनहाइट (४२ डिग्री सेल्सियस) तापक्रमको कीर्तिमान रहेको थियो।
अत्यधिक गर्मीका कारण कोलोराडो र युटाका विभिन्न क्षेत्रमा फैलिएका डढेलो नियन्त्रणको प्रयाससमेत प्रभावित भएको छ। मौसमविद्हरूले यो गर्मीको लहर कम्तीमा मङ्गलबारसम्म कायम रहने अनुमान गरेका छन्। यसअघि एक साताअघि पूर्वी अमेरिकामा पनि अर्को शक्तिशाली गर्मीको लहर देखिएको थियो। त्यसक्रममा न्युयोर्क र फिलाडेल्फियामा तापक्रम करिब १०४ डिग्री फरेनहाइटसम्म पुगेको थियो।
वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विश्वभर अत्यधिक गर्मीका लहरहरू अझ बारम्बार, लामो समयसम्म रहने र तीव्र बन्दै गएको चेतावनी दिएका छन्। उनीहरूका अनुसार जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट हुने हरितगृह ग्यास उत्सर्जन यसका प्रमुख कारणमध्ये एक हो।
यता पश्चिमी युरोपले पनि हालसम्मकै सबैभन्दा तातो जुन महिनाको सामना गरेको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालैको गर्मीको लहरका कारण युरोपमा मात्रै एक हजार तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।















प्रतिक्रिया दिनुहोस्