काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका तथा चोरी भएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
एक महिनादेखि सञ्चालन गरिएको विशेष खोज अभियानका क्रममा फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर आइतबार आयोजित कार्यक्रममा सवारीधनीलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले हराएका तथा चोरी भएका सवारीसाधनको खोजीलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको बताए। उनले सवारीधनीलाई आफ्ना सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न तथा आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह समेत गरे।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारीसाधनको सुरक्षामा सवारीधनीकै भूमिका महत्वपूर्ण हुने बताए। उनले जीपीएस प्रणाली जडान, सुरक्षित पार्किङस्थलको प्रयोग तथा आवश्यक सावधानी अपनाउन सके चोरी तथा हराउने घटना न्यूनीकरण गर्न सकिने उल्लेख गरे।
ट्राफिक प्रहरीले हराएका तथा चोरी भएका सवारीसाधनको खोजी गरी सम्बन्धित धनीलाई फिर्ता गर्ने अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।















प्रतिक्रिया दिनुहोस्