काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाडस दिएका हुन् । उनले, व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यका सम्भावनाबारे अध्ययन गर्न आग्रह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको समेत उपस्थिति रहेको छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन पूर्ण रूपमा सक्षम रहेको जानकारी गराएका थिए। हाल वार्षिक करिब १२ लाख पर्यटक मात्र नेपाल भित्रिरहेको उल्लेख गर्दै उनीहरूले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा उल्लेखनीय वृद्धि हुने र नेपाली युवाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखेका छन् ।
होटल व्यवसायीहरूले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) तथा क्रस–बोर्डर पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याउँदै सरकारसमक्ष विभिन्न नीतिगत मागहरू समेत प्रस्तुत गरेका छन्। उनीहरूले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन तथा साना तथा मझौला होटलका लागि २५ बेडसम्मको संक्षिप्त वातावरणीय मूल्याङ्कन अध्ययनको व्यवस्था अव्यावहारिक भएकाले त्यसको सीमा ५० बेडसम्म कायम गर्न माग गरेका छन्।
त्यसैगरी, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नेपाल एयरलाइन्सको सेवामा सुधार ल्याउन पनि उनीहरूले सरकारसँग अनुरोध गरेका छन्। व्यवसायीहरूले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अन्तर्गत प्रविधि हस्तान्तरणका लागि ट्रेडमार्क प्रयोगबापतको रोयल्टी वा शुल्क कुल बिक्री मूल्यको ५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था संशोधन गरी आपसी समझदारीका आधारमा शुल्क निर्धारण गर्न सकिने व्यवस्था मिलाउन तथा होटल व्यवसायसँग सम्बन्धित अन्य कानुनहरूको पुनरावलोकन र संशोधन गर्न आग्रह गरेका छन्।
यस्तै, डेस्टिनेसन वेडिङका लागि गरगहना ल्याउने प्रक्रिया सहज बनाउन तथा आरोग्य पर्यटन प्रवर्द्धनका लागि फोटो–भिडियोमा मात्र सीमित नभई ‘फुल स्टोरी टेलिङ’ सहितको प्रचार–प्रसार प्याकेज र विज्ञहरूको व्यवस्था गर्न पनि व्यवसायीहरूले सरकारसँग माग गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यहरू जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा हान सचिवालयका प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो।















प्रतिक्रिया दिनुहोस्