Advertisement
Advertisement
Corporate Samachar
३१ असार २०८३, बुधबार
Advertisement

सेबोनले ३ महिनाभित्र ‘सर्ट सेलिङ’ प्रणाली ल्याउने, बजार घट्दा पनि लगानीकर्ताले नाफा कमाउने

सेबोनले ३ महिनाभित्र ‘सर्ट सेलिङ’ प्रणाली ल्याउने, बजार घट्दा पनि लगानीकर्ताले नाफा कमाउने
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारमा ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ। बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था गर्न बोर्डले आवश्यक नीतिगत तथा कानुनी तयारी थालेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले आगामी तीन महिनाभित्र सर्ट सेलिङका लागि आवश्यक संरचना तयार गर्ने बताए। नेप्सेमा आवश्यक पूर्वाधार विकास भएपछि यो प्रणाली कार्यान्वयनमा ल्याइने उनको भनाइ छ। ‘अहिले शेयर बजार बढ्दा मात्रै नाफा कमाउने अवस्था छ। अब बजार घट्दा पनि लगानीकर्ताले नाफा कमाउन सक्ने सर्ट सेलिङ प्रणाली कार्यान्वयनमा ल्याउन काम गरिरहेका छौँ,’ अध्यक्ष भट्टले भने ।

सर्ट सेलिङ प्रणालीअन्तर्गत बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले अरूबाट शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। पछि मूल्य घटेपछि सोही शेयर खरिद गरी फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा लिन सकिने व्यवस्था हुनेछ। यस्तै, बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले हालकै व्यवस्थाअनुसार शेयर खरिद गरेर मूल्य बढेपछि बिक्री गरी प्रतिफल लिन सक्नेछन्।

अध्यक्ष भट्टले नेपालमा शेयर बजार सधैँ बढिरहनुपर्ने मानसिकता रहेको भन्दै कुनै पनि देशको पुँजी बजार निरन्तर उकालो मात्र लाग्न नसक्ने बताए। बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब सिर्जना हुने गरेको उनको गुनासो थियो। उनका अनुसार बोर्डको मुख्य जिम्मेवारी बजारको दिशा निर्धारण गर्नु नभई सबै लगानीकर्ताका लागि निष्पक्ष ‘प्लेइङ फिल्ड’ तयार गर्नु हो । सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्दा पनि लगानीकर्ताले अध्ययन र विश्लेषणका आधारमा लगानी निर्णय गर्न सक्ने वातावरण बन्ने उनले बताए ।

इन्ट्राडे र सेक्युरिटी ल्यान्डिङ पनि ल्याउने तयारी

सेबोनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सर्ट सेलिङसँगै इन्ट्राडे कारोबार, सेक्युरिटी ल्यान्डिङ तथा बरोइङ, अक्सन मार्केट लगायतका अन्तर्राष्ट्रिय बजारमा प्रचलित उपकरणहरू क्रमशः लागू गर्ने उल्लेख गरेको छ । अध्यक्ष भट्टका अनुसार बोर्डले दोस्रो बजारमा वित्तीय उपकरणको विविधीकरण गर्दै लगानीकर्तालाई जोखिम व्यवस्थापन र लिभरेजको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। त्यसका लागि सेक्युरिटी ल्यान्डिङ तथा बरोइङको नियमन संरचना, जोखिम व्यवस्थापन प्रणाली र डिजिटल प्लेटफर्म विकास गर्ने योजना अघि सारेको छ ।

रियल टाइम बजार निगरानी प्रणाली विस्तार गरिने

सेबोनले नेपालको पुँजी बजारको प्रमुख पूर्वाधार नेप्सेलाई पुनर्संरचना तथा आधुनिकीकरण गर्ने योजना समेत सार्वजनिक गरेको छ । बोर्डका अनुसार आगामी दिनमा नेप्सेमा कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, नगर ऋणपत्र, हरित ऋणपत्र, पूर्वाधार ऋणपत्र, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ), रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (आरईआईटी) तथा डेरिभेटिभ्स जस्ता उपकरणहरू क्रमशः भित्र्याइनेछ । यस्तै, बढ्दो कारोबारलाई व्यवस्थापन गर्न अन्तर्राष्ट्रियस्तरको प्रविधिमा आधारित उच्च क्षमताको पूर्वाधार विकास गर्ने, रियल टाइम बजार निगरानी प्रणाली विस्तार गर्ने र साइबर सुरक्षा मजबुत बनाउने योजना पनि बोर्डले अघि सारेको छ।

अर्बौंको उधारो कारोबार कसरी चल्यो ?

अर्थ समितिको बैठकमा रास्वपा सांसद लिमा अधिकारीले सेबोनको नियामकीय क्षमतामाथि प्रश्न उठाएकी छन्। उनले रकम भुक्तानी नै नगरी अर्बौं रुपैयाँ बराबरको शेयर कारोबार वर्षौंसम्म कसरी सञ्चालन भयो भन्दै बोर्डसँग जवाफ मागिन्। सीमित व्यक्तिले उधारोमा ठूलो परिमाणमा शेयर खरिद–बिक्री गरी कृत्रिम रूपमा मूल्य बढाएको आरोप सार्वजनिक भएको उल्लेख गर्दै उनले यस्तो कारोबार समयमै पत्ता नलाग्नुमा बजार निगरानी प्रणाली वा ब्रोकर अनुगमनमा कमजोरी रहेको हुन सक्ने बताइन् ।

उनले अन्य ब्रोकर कम्पनीमा समेत यस्ता कारोबार भए/नभएको छानबिन गर्नुपर्नेमा जोड दिइन् । सांसद अधिकारीले म्युचुअल फन्डलाई दिइएको ५ प्रतिशत आईपीओ कोटाले साना लगानीकर्ताको हित र बजारको गहिराइमा कति योगदान पुर्‍यायो भन्ने मूल्यांकन सार्वजनिक गर्न माग गरिन् ।

यस्तै, प्रि–आईपीओमा प्रिमियम निर्धारण, वित्तीय प्रक्षेपण र वास्तविक परिणामबीचको अन्तर, लेखापरीक्षक तथा बिक्री प्रबन्धकको जवाफदेहितालगायत विषयमा पनि उनले सेबोनको स्पष्ट धारणा मागेकी छन् । यस्तै, उनले पुँजी बजारमा लगानीकर्ताको विश्वास कायम गर्न नियामक निकाय पारदर्शी, प्रभावकारी र उत्तरदायी हुनुपर्ने बताइन् ।

साझा: Facebook X WhatsApp Telegram

समय समीक्षा

editor

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit