Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

देशभर एउटै कलेजमा बायोमेडिकल इन्जिनियरिङ, माग भने दिनानुदिन बढ्दो

देशभर एउटै कलेजमा बायोमेडिकल इन्जिनियरिङ, माग भने दिनानुदिन बढ्दो
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक मानिने बायोमेडिकल इन्जिनियरिङ विषयका दक्ष जनशक्तिको अभाव बढ्दै गएको छ। अस्पतालहरूको संख्या र अत्याधुनिक स्वास्थ्य उपकरणको प्रयोग तीव्र रूपमा बढिरहेका बेला आवश्यक जनशक्ति उत्पादन भने अत्यन्तै सीमित रहेको  जानकारहरु बताउँछन् ।

विज्ञापन
Advertisement
Advertisement

नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (एनआईईटी) का सहायक क्याम्पस प्रमुख शेखर खनालका अनुसार बायोमेडिकल इन्जिनियरिङ स्वास्थ्य र इन्जिनियरिङलाई जोड्ने अत्यन्त महत्वपूर्ण विषय हो। यसलाई सामान्य भाषामा डाक्टर र इन्जिनियरको संयोजनका रूपमा पनि बुझ्न सकिन्छ।

उनका अनुसार बायोमेडिकल इन्जिनियरिङले इन्जिनियरिङका सिद्धान्त, प्रविधि र नवप्रवर्तन प्रयोग गरी रोगको पहिचान, परीक्षण, उपचार तथा स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ। अस्पतालमा रोग पहिचानको लागि प्रयोग हुने स्टेथोस्कोपदेखि लिएर ल्याब उपकरणहरु, एक्स–रे, सिटी स्क्यान, एमआरआई मेसिनहरु तथा रोग निदानको लागि डायलाइसिस मेसिन, भेन्टिलेटर, फिजियोथेरापी उपकरण लगायत शल्यक्रियामा प्रयोग हुने अत्याधुनिक उपकरणसम्म सबै बायोमेडिकल इन्जिनियरिङ अन्तर्गत रहेको उनले बताए।

उनले भने, ‘डाक्टरले बिरामीको उपचार गर्ने निर्णय गर्ने आधार नै विभिन्न मेडिकल परीक्षणका रिपोर्ट हुन्। ती उपकरणको विकास, सञ्चालन, मर्मत र गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी बायोमेडिकल इन्जिनियरको हुन्छ।’

खनालका अनुसार अहिले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसँगै बायोमेडिकल इन्जिनियरिङको महत्व अझ बढेको छ। मेडिकल इमेज विश्लेषण, रोगको प्रारम्भिक पहिचान, बिरामीको डाटा व्यवस्थापन तथा रोबोटिक सर्जरीजस्ता क्षेत्रमा एआई र बायोमेडिकल इन्जिनियरिङको संयुक्त प्रयोग भइरहेको उनले जानकारी दिए।

उनका अनुसार शल्यक्रियाका क्रममा प्रयोग हुने उपकरणमा कुनै समस्या आए तत्काल समाधान गर्न पनि बायोमेडिकल इन्जिनियर आवश्यक पर्छ। त्यसैले विकसित मुलुकहरूमा अपरेशन थिएटरमा समेत बायोमेडिकल इन्जिनियरलाई ‘स्ट्यान्डबाइ’ राख्ने अभ्यास छ।

नेपालमा भने दक्ष जनशक्तिको अभाव अत्यन्त गम्भीर बन्दै गएको उनले बताए। उनका अनुसार अन्तिम वर्षमा पुग्न नपुग्दै अधिकांश विद्यार्थीले अस्पताल तथा उपकरण कम्पनीबाट रोजगारीको प्रस्ताव पाउने गरेका छन्। ‘काठमाडौं मात्रै होइन, बाहिरका अस्पतालबाट पनि बायोमेडिकल इन्जिनियर पठाइदिनुस् भनेर निरन्तर फोन आउँछ,’ उनले भने, ‘तर पठाउने जनशक्ति हामीसंग छैन।’

उनका अनुसार हालसम्म उत्पादन भएका करिब ४० देखि ५० प्रतिशत विद्यार्थी उच्च शिक्षाका लागि विदेश गइसकेका छन्। नेपालमा अहिलेसम्म बायोमेडिकल इन्जिनियरिङको स्नातकोत्तर (मास्टर्स) कार्यक्रम सञ्चालन हुन नसक्दा धेरै विद्यार्थी विदेश जान बाध्य भएका हुन्।

‘हामीले धेरै वर्षदेखि मास्टर्स कार्यक्रम सञ्चालनका लागि पहल गरिरहेका छौं। तर विश्वविद्यालयबाट स्वीकृति नपाउँदा अझै शुरु हुन सकेको छैन,’ उनले भने। नेपालमा बायोमेडिकल इन्जिनियरका लागि सरकारी तथा निजी अस्पताल, मेडिकल उपकरण आपूर्ति गर्ने कम्पनी, उपकरण मर्मत तथा व्यवस्थापन, अनुसन्धान संस्था र आफ्नै कम्पनी स्थापना गरी उद्यम गर्ने प्रशस्त अवसर रहेको उनले बताए। अस्पतालमा उपकरण सञ्चालनसम्बन्धी तालिम दिने कामसमेत बायोमेडिकल इन्जिनियरले नै गर्ने गरेका छन्।

उनका अनुसार स्वास्थ्य सेवा बिनियमवाली अनुसार १०० शैयाभन्दा माथिका अस्पतालमा कम्तीमा एक जना बायोमेडिकल इन्जिनियर अनिवार्य हुनुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए ठूलो संख्यामा रोजगारी सिर्जना हुन सक्ने अवस्था रहेको छ। तर यो व्यवस्था अझै पूर्ण रूपमा लागू हुन सकेको छैन।

नेपालमा हालसम्म बायोमेडिकल इन्जिनियरिङ विषयको स्नातक तहको अध्ययन ‘नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिंग एण्ड टेक्नोलोजी (एनआईईटी)’ मा मात्रै सञ्चालन भइरहेको छ। तत्कालीन ‘कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेज’ का रूपमा स्थापना भएको उक्त संस्था हाल कुपण्डोलस्थित एनआईईटीको रूपमा सञ्चालनमा छ।

सहप्राध्यापक खनालका अनुसार हाल संस्थामा करिब ४५० विद्यार्थी अध्ययनरत छन् भने स्थापना भएयता ७ सय भन्दा बढी बायोमेडिकल इन्जिनियरहरु उत्पादन भइसकेका छन्।

उनले अन्य कलेजमा यो विषय विस्तार हुन नसक्नुको प्रमुख कारण अत्यन्त महँगा प्रयोगशाला, अत्याधुनिक मेडिकल उपकरण र अस्पतालसँगको प्रत्यक्ष सहकार्यको साथै दक्ष जनशक्तिको अभाव रहेको बताए। ‘इलेक्ट्रोनिक्स इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, मेडिकल इमेजिङ, उपकरण मर्मतसम्भार ,एनाटोमी, फिजियोलोजी लगायतका अत्याधुनिक प्रयोगशाला तथा अस्पतालमा आधारित प्रशिक्षण अनिवार्य हुन्छ,’ उनले भने।

विद्यार्थीहरूले चार वर्षे स्नातक अध्ययनका क्रममा तीन महिनाको अनिवार्य अस्पताल इन्टर्नसिप गर्ने व्यवस्था रहेको उनले जानकारी दिए। विभिन्न अस्पतालहरूसँग भएको सहकार्यमार्फत विद्यार्थीहरूले अत्याधुनिक उपकरण सञ्चालन, मर्मत तथा व्यवस्थापनको व्यावहारिक अनुभव प्राप्त गर्ने गरेका छन्।

बायोमेडिकल इन्जिनियरिङलाई धेरैले उपकरण मर्मत गर्ने प्राविधिकको रूपमा मात्र बुझ्ने गरेको उल्लेख गर्दै खनालले यसको दायरा निकै फराकिलो रहेको बताए। पेसमेकर, स्टेन्ट, घुँडाको इम्प्लान्ट, कृत्रिम अंगहरुको विकास, स्वास्थ्य उपकरणको डिजाइन, अस्पताल व्यवस्थापन तथा स्वास्थ्य प्रविधिमा अनुसन्धानसम्म बायोमेडिकल इन्जिनियरको भूमिका विस्तार भएको उनले बताए।

उनका अनुसार विश्वभर स्वास्थ्य प्रविधि क्षेत्रमा सबैभन्दा बढी अनुसन्धान तथा लगानी हुने भएकाले बायोमेडिकल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीले विदेशमा सहज रूपमा छात्रवृत्ति पाउने गरेका छन्। ‘विशेषगरी अमेरिका लगायतका मुलुकमा हाम्रा धेरै विद्यार्थीहरुले छात्रवृत्तिमै पीएचडी गरेका छन्,’ उनले बताए।

स्वास्थ्य सेवा आधुनिक बन्दै जाँदा बायोमेडिकल इन्जिनियरिङको आवश्यकता झन् बढ्दै जाने भए पनि नेपालमा जनशक्ति उत्पादन अझै मागअनुसार हुन नसकेको उनको  भनाई छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit