काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा लगानीकर्ता संरक्षण, बजारको पारदर्शिता तथा पूँजी बजारको संस्थागत विकासलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारका कार्यक्रम अघि बढाउने जनाएको छ।
बोर्डले मंगलबार जारी गरेको प्रेस नोटमार्फत नेपालको पूँजी बजार अहिले विकासको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै बजारको आकार, गहिराइ, वित्तीय उपकरणको विविधता, संस्थागत लगानीकर्ताको भूमिका तथा उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालनलाई सुदृढ बनाउन समयबद्ध रूपमा नीति कार्यान्वयन गरिने जनाएको हो।
बोर्डका अनुसार धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धानलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय सुदृढ गरिनेछ। साथै लगानीकर्ता संरक्षणलाई उच्च प्राथमिकता दिँदै इन्फ्लुएन्सरमार्फत हुने भ्रामक सूचना प्रवाह, अनधिकृत लगानी परामर्श, सामाजिक सञ्जालबाट हुने बजार प्रभावित गर्ने गतिविधि तथा वित्तीय ठगीमाथि कडा नियामकीय निगरानी गरिनेछ।
सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रियालाई थप व्यवस्थित बनाउन सरोकारवालाबाट प्राप्त सुझावका आधारमा नीतिगत सुधार गरिने र कम्पनीको वित्तीय तथा व्यवस्थापकीय अवस्थाको वस्तुगत अध्ययनपछि मात्रै निष्काशन अनुमति दिने व्यवस्था गरिने बोर्डले जनाएको छ।
मार्जिन कारोबारसम्बन्धी निर्देशिका जारी भइसकेको उल्लेख गर्दै बोर्डले यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ तथा धितोपत्र दलाल व्यवसायीबीच समन्वय गरी देखिएका अवरोध हटाउँदै यथाशीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याइने जनाएको छ।
सूचीकरणपछि बजारमा माग–आपूर्तिको सन्तुलन कायम गर्न सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को लक–इन अवधि तथा बाँडफाँट सम्बन्धी व्यवस्थाको पुनरावलोकन गरिनेछ। साथै लगानीकर्ताको कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारका शुल्कहरू पनि पुनरावलोकन गरिने बोर्डको योजना छ।
बजार सूचकाङ्क सुधारअन्तर्गत नेप्से सूचकाङ्कलाई सबै इक्विटी समेट्ने सूचकका रूपमा कायम राख्दै कारोबारयोग्य (फ्री–फ्लोट) शेयरका आधारमा नयाँ बेञ्चमार्क सूचकाङ्क विकास गरी गणना गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ।
त्यस्तै सामाजिक सञ्जालमार्फत सर्वसाधारणबाट आईपीओ अघि विभिन्न संस्थाले गर्ने पूँजी संकलनसम्बन्धी गतिविधिलाई समेत नियमनको दायरामा ल्याइने भएको छ।
बोर्डले यी सुधार कार्यक्रमसँगै आगामी दशकका लागि तयार गरिएको ‘नेपालको पूँजी बजार विकास मार्गचित्र–२०८३’, आर्थिक वर्ष २०८३\०८४ को पूँजी बजार नीति तथा कार्यान्वयन कार्ययोजना पनि छिट्टै आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ।
बोर्डका अनुसार यी सुधारमार्फत नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्दै राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी आर्थिक रूपान्तरणमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।














प्रतिक्रिया दिनुहोस्