काठमाडौं। नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तार भइरहेका बेला हुवावेले विद्युत् प्रणालीलाई थप स्थिर, भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यसहित सौर्य ऊर्जा व्यवस्थापन तथा विद्युत् भण्डारणसम्बन्धी दुई नयाँ प्रविधि सार्वजनिक गरेको छ।
कम्पनीले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा’ (पीभी) र ‘लुटेरा ग्रिड–फर्मिङ विद्युत् ऊर्जा भण्डारण प्रणाली’ (इएसएस) सार्वजनिक गरेको हो।
हुवावेका अनुसार फ्युजनसोलार ९.० ठूला क्षमताका सौर्य आयोजनालाई लक्षित गरी विकास गरिएको डिजिटल प्रणाली हो। यसले कृत्रिम बौद्धिकता र डिजिटल प्रविधिको प्रयोगमार्फत सौर्य ऊर्जा उत्पादनको दक्षता बढाउने, सञ्चालन तथा व्यवस्थापनलाई सहज बनाउने तथा विद्युत् उत्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
त्यसैगरी ‘लुटेरा ग्रिड–फर्मिङ विद्युत् ऊर्जा भण्डारण प्रणाली’ले उत्पादन भएको विद्युत् आवश्यकताअनुसार भण्डारण गर्ने, माग उच्च भएका समयमा पुनः आपूर्ति गर्ने तथा विद्युत् प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने कम्पनीको दाबी छ। नवीकरणीय ऊर्जाको उत्पादन मौसमअनुसार घटबढ हुने भएकाले यस्तो प्रविधि विशेष रूपमा उपयोगी हुने बताइएको छ।
नेपालमा जलविद्युत्सँगै सौर्य ऊर्जा प्रवर्द्धनका प्रयास तीव्र भइरहेका बेला ऊर्जा भण्डारण प्रविधिको आवश्यकता पनि बढ्दै गएको छ। सौर्य ऊर्जा मुख्यतः दिनको समयमा उत्पादन हुने र विद्युत्को मागको समय फरक हुने भएकाले ऊर्जा भण्डारण प्रणालीले विद्युत् व्यवस्थापनलाई थप सन्तुलित र भरपर्दो बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, हुवावे डिजिटल पावर साउथ एसियाका निर्देशक यु जियानलोङ, हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेन, हुवावे नेपाल डिजिटल पावरका निर्देशक रोहितचन्द्र शाह तथा ऊर्जा विकासकर्ता एवं नवीकरणीय ऊर्जा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।
















प्रतिक्रिया दिनुहोस्