Advertisement
Advertisement
Corporate Samachar
१२ श्रावण २०८३, मंगलवार
Advertisement
Advertisement

निजी क्षेत्रसँग अर्थमन्त्री भेट : उद्योगीका समस्या समाधान गर्न ‘रेस्पोन्स डेस्क’स्थापना गर्ने घोषणा, अरू केके भयाे छलफल?

निजी क्षेत्रसँग अर्थमन्त्री भेट : उद्योगीका समस्या समाधान गर्न ‘रेस्पोन्स डेस्क’स्थापना गर्ने घोषणा, अरू केके भयाे छलफल?
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार र निजी क्षेत्रबीच नयाँ कार्यसंस्कृतिको विकास गर्दै लगानीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। उनले उत्पादन, लगानी र उद्यमशीलतालाई केन्द्रमा राखेर आर्थिक रूपान्तरणको नयाँ चरण सुरु गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिसँग मंगलबार आयोजित विशेष छलफल कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले अब सरकार र निजी क्षेत्रबीच समस्या गन्ने होइन, समाधान खोज्ने संस्कृतिको विकास गरिने बताए।

‘आजको भेट केवल औपचारिक कार्यक्रम होइन,सरकार र निजी क्षेत्रबीच नयाँ कार्यसंस्कृतिको सुरुआत गर्ने ऐतिहासिक अवसर हो,’ उनले भने,’म यहाँ भाषण गर्न वा समस्या सुन्न मात्र आएको होइन, समस्याको व्यावहारिक समाधान खोज्न आएको हुँ।’

अर्थमन्त्री वाग्लेले बजेट निर्माणअघि उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्र, लगानीकर्ता, युवा उद्यमी तथा विभिन्न निजी क्षेत्रका संस्थासँग व्यापक परामर्श गरिएको उल्लेख गर्दै तिनै सुझावका आधारमा बजेटमार्फत संरचनागत आर्थिक सुधारको सुरुआत गरिएको बताए।

उनका अनुसार सरकारले अनावश्यक तथा पुराना कानुन खारेज गर्ने, लगानीको वातावरण सुधार गर्ने, कर प्रणालीलाई सरल र पारदर्शी बनाउने, व्यवसाय गर्ने वातावरण सहज बनाउने, पूँजी बजार तथा वैकल्पिक वित्तीय साधन विस्तार गर्ने, श्रम बजारलाई व्यवस्थित गर्ने र डिजिटल प्रशासनलाई सुदृढ बनाउने कार्ययोजना अघि बढाएको छ। अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित ४२ वटा ऐन संशोधन वा खारेजीको प्रक्रियामा रहेको पनि उनले जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका छाता संस्थाले बजेटलाई सकारात्मक रूपमा स्वागत गरेको भन्दै अर्थमन्त्री वाग्लेले त्यसप्रति आभार व्यक्त गरे।

सम्बोधनका क्रममा उनले सरकारको मुख्य आर्थिक एजेन्डा “लगानी, लगानी र केवल लगानी” रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीदेखि सम्पूर्ण आर्थिक टोली निजी क्षेत्रका मुद्दामा गम्भीर रहेको बताए।

तीन लक्ष्यमा सरकार केन्द्रित

अर्थमन्त्री वाग्लेले सरकारको ध्यान तीन प्रमुख परिणाममा केन्द्रित रहेको बताए। उनका अनुसार सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गराउने, विद्यमान उद्योगलाई निर्बाध रूपमा विस्तार गर्न सक्ने वातावरण बनाउने तथा नयाँ पुस्ताका उद्यमीका लागि नयाँ उद्योग स्थापना गर्न अनुकूल वातावरण सिर्जना गर्ने सरकारको प्राथमिकता हो।

उनले यी तीन क्षेत्रमा सुधार भए आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि र निर्यात प्रवर्द्धन स्वतः तीव्र हुने विश्वास व्यक्त गरे।

उद्योगीसँग चार महत्वपूर्ण प्रश्न

छलफलका क्रममा अर्थमन्त्रीले उद्योगी तथा व्यवसायीसँग उत्पादन लागत किन उच्च छ, उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नुका कारण के हुन्, नयाँ लगानी किन आउन सकेको छैन तथा जग्गा, विद्युत्, श्रम, ढुवानी, कच्चा पदार्थ, वित्त र कानुनी प्रक्रियामा रहेका मुख्य अवरोध के हुन् भन्ने विषयमा खुला सुझाव मागे। उनले यी प्रश्नको उत्तर प्रतिवेदनमा सीमित नराखी व्यवहारमै लागू गरिने बताए।

अर्थ मन्त्रालयमा ‘रेस्पोन्स डेस्क’ स्थापना

अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायीले उठाएका जायज समस्याको शीघ्र समाधानका लागि अर्थ मन्त्रालयमा उच्च प्राथमिकतासहित ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने घोषणा गरे।

उनले अब फाइल थन्किने कार्यशैली अन्त्य गर्दै द्रुत निर्णय र प्रभावकारी कार्यान्वयनको संस्कृतिको विकास गरिने बताए। बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधार, कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध रूपमा कार्यान्वयन गरिने पनि उनले स्पष्ट पारे।

निजी क्षेत्रको लगानी सुरक्षित हुने सरकारको प्रतिबद्धता

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी पूर्ण रूपमा सुरक्षित रहने, लगानीकर्ताले उचित प्रतिफल पाउने तथा पुनःलगानीका लागि अनुकूल वातावरण सरकारले सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहनेछ, किनकि निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो,’ उनले भने।

सरकार सुधारको गति अझ तीव्र बनाउँदै निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने उल्लेख गर्दै उनले उद्योगी–व्यवसायीलाई आत्मविश्वासका साथ लगानी विस्तार गर्न, उत्पादन बढाउन, नयाँ उद्योग स्थापना गर्न र रोजगारी सिर्जना गर्न आह्वान गरे।

सम्बोधनको अन्त्यमा अर्थमन्त्री वाग्लेले उत्पादन, लगानी र उद्यमशीलताको माध्यमबाट स्वाभिमानी र समृद्ध नेपाल निर्माण नै सरकार र निजी क्षेत्रको साझा लक्ष्य रहेको बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit