काठमाडौं । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटिएस एलुम्नाइ सोसाइटीले आगामी श्रावण १४ र १५ गते ललितपुरस्थित होटल हिमालयमा दुईदिने विशेष कार्यक्रम आयोजना गर्ने भएका छन्। कार्यक्रममा प्रदर्शनी, व्यापार तथा लगानी मेला, जापानी चिया संस्कार प्रदर्शन, सेमिनार र प्यानल छलफल समावेश हुनेछन्।
नेपालस्थित जापानी राजदूतावास, एओटीएस जापान र जापानिज चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री इन नेपालको सहयोगमा हुने कार्यक्रममा नेपाल–जापानबीचका संस्कृति, परम्परा, वास्तुकला, खानपान र सामाजिक मूल्य झल्काउने ७० वटा प्रदर्शनी सामग्री राखिनेछ। आगन्तुकले जापानको परम्परागत माचा चियासहित जापानी चिया संस्कार प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
समारोहअन्तर्गत आयोजना हुने व्यापार तथा लगानी मेलामा २० भन्दा बढी नेपाली तथा जापानी कम्पनी र संस्थाका करिब दुई दर्जन स्टल रहनेछन्। ती स्टलमा उत्पादन, सेवा, प्रविधि, नवप्रवर्तन तथा लगानीका अवसर प्रस्तुत गरिनेछन्।
कार्यक्रमका लागि २० सदस्यीय जापानी व्यवसायिक प्रतिनिधिमण्डल नेपाल आउनेछ। प्रतिनिधिमण्डलले नेपाली व्यवसायीसँग व्यापार, लगानी, प्रविधि हस्तान्तरण तथा साझेदारी विस्तारका विषयमा छलफल गर्नेछ। साथै, उच्चस्तरीय सेमिनार र प्यानल छलफलमा नेपाल र जापानका विज्ञ तथा उद्यमीले द्विपक्षीय आर्थिक सहकार्यका सम्भावनाबारे विचार आदान–प्रदान गर्नेछन्।
आयोजकका अनुसार दुईदिने कार्यक्रममा तीन हजारभन्दा बढी आगन्तुकको सहभागिता रहने अपेक्षा गरिएको छ। यस कार्यक्रमले नेपाल–जापानबीचको ७० वर्ष लामो मित्रता, सांस्कृतिक सम्बन्ध तथा व्यापार–लगानी सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्