काठमाडौं। नेपालका लागि स्विट्जरल्याण्डका कार्यवाहक राजदूत माथीयास मायरले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टिभेट) क्षेत्रको सुधारमा स्वीस सरकारको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत मायरले टिभेट क्षेत्रको सुधारका लागि उद्योग र तालिम प्रदायकबीच प्रभावकारी सम्बन्ध तथा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताए। भेटमा मन्त्री पोखरेलले टिभेट क्षेत्रको सुधारलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै टिभेट ऐन अहिले छलफलको क्रममा रहेको बताए। टिभेट क्षेत्रको व्यवस्थापन तथा सुशासन सुधारसँगै दक्ष जनशक्ति विकासमा समेत जोड दिइने र यसका लागि स्वीस सरकारसँग थप सहकार्य गर्न सकिने उनको भनाइ थियो।

मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्वीस सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। भेटमा नेपाल–स्विट्जरल्याण्डबीचको सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य विस्तार गर्न सकिने क्षेत्रबारे समेत छलफल भएको थियो। राजदूत मायरले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी नीति निर्माण अन्य देशको तुलनामा राम्रो रहेको र यससम्बन्धी तथ्याङ्कसमेत उपलब्ध रहेकाले आगामी दिनमा थप सुधार हुने विश्वास व्यक्त गरे।
















प्रतिक्रिया दिनुहोस्