काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत् सम्मेलनका रूपमा परिचित ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ यसै साता आयोजना हुने भएको छ ।
आईसीटी फाउन्डेसन नेपालको आयोजनामा पाँचौँ संस्करणको कन्क्लेभ भदौ ११ गते बिहीबार ललितपुरस्थित द प्लाजामा आयोजना हुनेछ । ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ अर्थात् ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ मूल विषयमा केन्द्रित सम्मेलनमा डिजिटल रूपान्तरण, सुशासन, डेटा र डिजिटल अर्थतन्त्रबारे छलफल हुने आयोजकले जनाएको छ ।
सन् २०१९ मा सरकारले सार्वजनिक गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई आधार बनाउँदै सन् २०२० देखि डिजिटल संवाद तथा कन्क्लेभ आयोजना हुँदै आएको छ । यस वर्ष नयाँ सरकारले सुशासनलाई दिएको प्राथमिकतासँगै डेटामा आधारित गभर्नेन्स र डिजिटल अर्थतन्त्रलाई सम्मेलनको प्रमुख बहसको विषय बनाइएको छ । सम्मेलनमा तीनभन्दा बढी ‘की–नोट’ प्रस्तुति, पाँचवटा विषयगत प्यानल संवाद र एउटा ‘पावर संवाद’ सेसन सञ्चालन हुनेछन्। त्यस्तै, डिजिटल नेपालको विकासमा काम गरिरहेका १० भन्दा बढी नवीन प्रविधि तथा परियोजनालाई ‘डिजिटल स्पार्क’मार्फत प्रस्तुत गरिनेछ । अन्तर्राष्ट्रिय विज्ञसहित नेपाल सरकारका उच्चस्तरीय प्रतिनिधि, प्रतिनिधिसभा सदस्य तथा मन्त्रीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा ५ सयभन्दा बढीको प्रत्यक्ष सहभागिता रहने अपेक्षा गरिएको छ ।
डिजिटल नेपाल निर्माणको सरकारको महत्वाकांक्षी योजनामा निजी क्षेत्र, सरकार र अन्तर्राष्ट्रिय निकायलाई सहभागी गराएर नीतिगत सुधार तथा कार्यान्वयनमा जोड दिनु सम्मेलनको मुख्य उद्देश्य रहेको आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले बताए । उनका अनुसार डिजिटल इकोसिस्टम विकासका लागि सरकारी तथा निजी क्षेत्रबाट भइरहेका प्रयाससँगै प्रविधि र नवप्रवर्तनलाई पनि अभियानमा जोड्ने पहल गरिएको छ। सम्मेलनमा नेपालमै विकास गरिएका ‘टिङटिङ’ र ‘थर्डफ्याक्टर एआई’ले विशेष सहकार्य गरेका छन् । यी प्रविधिसहित २० भन्दा बढी नेपाली प्रविधिको प्रदर्शनी गरिनेछ। कार्यक्रममा ‘टिङटिङ ओम्नी लाइभ इन्टरेक्शन’, ‘टिङटिङ आउटबाउन्ड’ र ‘टिङटिङ रेस्पोन्सिभ एजेन्ट’मार्फत एआई प्रविधिको प्रत्यक्ष अनुभव गर्ने अवसरसमेत उपलब्ध हुनेछ।
कन्क्लेभमा अनलाइन ट्राभल टिकटिङ प्लेटफर्म ‘सस्तो टिकट’ र फिनटेक कम्पनी ‘फोनपे’ पावर्ड बाईका रूपमा रहेका छन् । न्यास आईटी, क्यान महासंघ, एनसेल बिजनेस, स्काई आईटी, कताहो, एती क्लाउड, डिसहोम, नासा एक्स, रि–सेक्युरिटी, कोड एक्स स्कुल, नेपाल टेलिकम र ग्लोबल स्पार्कलगायत संस्थाको सहकार्य तथा सहयोग रहेको आयोजकले जनाएको छ । यस वर्षको सम्मेलनका छलफल मुख्यतः तीन रणनीतिक विषयमा केन्द्रित हुनेछन् । ‘गभर्नेन्स एन्ड डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर’अन्तर्गत संस्थागत डिजिटल सुधार, नागरिककेन्द्रित स्मार्ट सेवा, एकीकृत डिजिटल आईडी, नीतिगत नवप्रवर्तन तथा डेटामा आधारित निर्णय प्रक्रियाबारे छलफल हुनेछ । त्यस्तै, ‘डेटा, एआई एन्ड साइबरसिक्युरिटी’अन्तर्गत राष्ट्रिय डेटा सार्वभौमिकता, एआईको नैतिक प्रयोग, साइबर सुरक्षा, डिजिटल ट्रस्ट तथा विभिन्न क्षेत्रबीच डेटा इन्टरअपरेबिलिटीका विषयमा बहस हुनेछ ।
‘डिजिटल इकोनोमी एन्ड इनोभेसन’ सेसनमा डिजिटल रूपान्तरण, लगानीका सम्भावना तथा भविष्यका लागि आवश्यक डिजिटल जनशक्तिबारे छलफल गरिनेछ । अन्तिम सेसन डिजिटल नेतृत्व तथा रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धतामा केन्द्रित हुनेछ। कन्क्लेभले सरकार, नीति निर्माता, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, प्राज्ञिक क्षेत्र, विकास साझेदार तथा युवा नवप्रवर्तकलाई एउटै मञ्चमा ल्याएर नेपालको डिजिटल भविष्यका लागि नीतिगत संवाद, ज्ञान आदान–प्रदान, लगानीका सम्भावना र रणनीतिक सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
सम्मेलनमा सहभागी हुन आधिकारिक वेबसाइटमार्फत टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।
















प्रतिक्रिया दिनुहोस्