काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले ७ जनाको उद्धार गरेको छ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार टिमुरे क्षेत्रबाट ४ जना र स्याफ्रुबेँसी क्षेत्रबाट ३ जना गरी ७ जनाको उद्धार गरिएको हो। बाढी प्रभावित क्षेत्रमा हेलिकप्टर अवतरण गर्न सक्ने अवस्था नभएपछि उद्धारका क्रममा बास्केट प्रयोग गरिएको सेनाले जनाएको छ। बास्केटमार्फत उद्धार गरिएका व्यक्तिलाई हेलिकप्टरमा राखेर सुरक्षित स्थानतर्फ लगिएको हो। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिँदै नेपाली सेनाका ४ वटा हेलिकप्टर परिचालन गरिएको छ। ती हेलिकप्टर टिमुरे, स्याफ्रुबेँसी, मेलुङ र त्रिशूली क्षेत्रमा परिचालन गरिएको सेनाले जनाएको छ।
त्यस्तै, बाढी प्रभावितको उपचार तथा स्वास्थ्य सेवाका लागि त्रिशूलीमा नेपाली सैनिक अस्पताल छाउनीबाट २० जनाको चिकित्सकीय टोलीसमेत खटाइएको छ। सेनाले बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको उद्धार र उपचारका लागि आवश्यक जनशक्ति तथा स्रोतसाधन परिचालन गरिरहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्