काठमाडौं। सरकारले विद्युत चुहावट नियन्त्रण अभियानलाई तीव्रता दिएसँगै विद्युत प्रणालीमा हुने चुहावट घटेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको लक्ष्यभन्दा राम्रो प्रगति हासिल गर्दै विद्युत चुहावट १२.१६ प्रतिशतमा झारेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा मन्त्रालयलाई विद्युत चुहावट १२.२० प्रतिशतमा सीमित गर्ने लक्ष्य दिएको थियो । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२।२६ प्रतिशत रहेको विद्युत चुहावट आर्थिक वर्ष २०८२/८३ मा घटेर १२.१६ प्रतिशतमा पुगेको हो ।
विद्युत चुहावट नियन्त्रणका लागि ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले नीतिगत, प्राविधिक तथा व्यवस्थापकीय सुधारलाई प्राथमिकतामा राख्दै अभियान अघि बढाएका थिए । चुहावट नियन्त्रणमा आवश्यक दक्ष प्राविधिक जनशक्तिको परिचालन, विद्युत् सञ्जालको नियमित अनुगमन तथा मर्मतसम्भार र व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयले सक्रियता बढाएको थियो। मन्त्रालयका अनुसार विद्युत चुहावट नियन्त्रणलाई केवल चोरी नियन्त्रणमा सीमित नराखी प्रणालीगत सुधारमार्फत अघि बढाइएको छ । विद्युत् नेटवर्कको स्तरोन्नति, प्राविधिक समस्या देखिनासाथ तत्काल समाधान गर्ने व्यवस्था र मर्मतसम्भारलाई समयमै सम्पन्न गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार विद्युत चोरी, वितरण प्रणालीमा हुने प्राविधिक क्षति, मर्मतसम्भारमा देखिने कमजोरी तथा लोड व्यवस्थापनसम्बन्धी समस्याका कारण विद्युत चुहावट हुने गर्छ । यस्ता समस्या पहिचान गरी तत्काल प्राविधिक टोली परिचालन गर्ने र वितरण प्रणालीलाई चुस्त बनाउने कामले चुहावट घटाउन सहयोग पुगेको प्राधिकरणको भनाइ छ । ऊर्जा मन्त्रालयका अनुसार आगामी दिनमा विद्युत चुहावट न्यूनीकरणको अभियानलाई थप प्रभावकारी बनाउने तयारी छ । त्यसका लागि प्राविधिक क्षमताको विस्तार, वितरण प्रणालीको सुधार र व्यवस्थापकीय उत्तरदायित्वलाई थप बलियो बनाउने जनाएको छ। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार दक्षिण एसियामा विद्युत चुहावटको औसत दर १३.८ प्रतिशत रहेको छ ।














प्रतिक्रिया दिनुहोस्