Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

४७ प्रतिशतले आयात घटे पनि धानचामल किन्न चार महिनामै ५.४१ अर्ब खर्च

४७ प्रतिशतले आयात घटे पनि धानचामल किन्न चार महिनामै ५.४१ अर्ब खर्च
सांकेतिक तस्बिर
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा धानचामलको आयात उल्लेख्य घटेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउन–कात्तिक) मा ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको धानचामल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयातको मूल्य ४६.८३ प्रतिशत र परिमाण ६३.१६ प्रतिशतले घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको पहिलो चार महिनामा नेपालले ६८ हजार २२७ टन धानचामल विदेशबाट भित्र्याएको छ । जबकि गत आर्थिक वर्षको यही अवधिमा १० अर्ब १८ करोड ४९ लाख रुपैयाँ बराबरको १ लाख ८५ हजार १९८ टन धानचामल आयात भएको थियो। यस वर्ष आयात परिमाणमा १ लाख १६ हजार ९७० टन र मूल्यमा करिब ४ अर्ब ७७ करोड रुपैयाँले कमी आएको छ।

धानको आयातमा पनि उल्लेख्य गिरावट देखिएको छ। चालु आवको चार महिनामा १ अर्ब ३ करोड ६९ लाख रुपैयाँ बराबरको २२ हजार ९०२ टन धान आयात भएको छ। गत वर्ष सोही अवधिमा ३ अर्ब ५९ करोड ९० लाख रुपैयाँ बराबरको करिब ९६ हजार ९१३ टन धान आयात भएको थियो ।समीक्षा अवधिमा धान आयातको परिमाण करिब ७४ हजार टनले घटेको तथ्यांकले देखाएको छ । चामल आयात पनि घटेको छ । साउनदेखि कात्तिकसम्म ४ अर्ब ३७ करोड ७८ लाख रुपैयाँ बराबरको ४५ हजार ३२४ टन चामल आयात भएको छ। गत वर्ष यही अवधिमा ६ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ बराबरको ८८ हजार २२७ टन चामल भित्रिएको थियो । अर्थात् चामल आयात परिमाणमा ४२ हजार ९०३ टनले कमी आएको छ ।

चामलका विभिन्न प्रकारमध्ये बासमतीको आयात भने मूल्यका आधारमा घटेको छैन । चालु आवमा २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ बराबरको १८ हजार ९८ टन बासमती चामल आयात भएको छ । गत वर्ष २ अर्ब ४४ करोड ८१ लाख रुपैयाँ बराबरको २२ हजार ८८ टन आयात भएको थियो । परिमाण घटे पनि मूल्य सामान्य बढेको देखिन्छ । यसैगरी, अन्य सेमिमिल्ड तथा होल्लीमिल्ड चामलको आयात ६२ हजार ८८३ टनबाट घटेर २६ हजार ५७५ टनमा झरेको छ । कनिकाको आयातसमेत ३ हजार २५२ टनबाट घटेर ६४९ टनमा सीमित भएको छ । धानचामल आयातबाट सरकारले संकलन गर्ने राजस्वसमेत घटेको छ । चालु आवको पहिलो चार महिनामा ४४ करोड ६२ लाख रुपैयाँ राजस्व उठेको छ । गत वर्ष सोही अवधिमा ७७ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

यद्यपि समग्र वैदेशिक व्यापारको तस्वीर भने अझै आयातमुखी छ । पहिलो चार महिनामा इन्धन आयातमै १ खर्ब ५७ अर्ब ५५ करोड रुपैयाँ विदेशिएको छ । यस अवधिमा कच्चा सोयाबिन तेल ६२ अर्ब ८१ करोड, डिजेल ५९ अर्ब २८ करोड र पेट्रोल ३४ अर्ब ४२ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपालले भारत र चीनसहित १३७ भन्दा बढी मुलुकसँग व्यापार गरिरहेको छ । भारतसँग मात्रै ३ खर्ब ४९ अर्ब रुपैयाँ व्यापार घाटा रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit