काठमाडौं। चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभान नजिकै नदी थुनिएर बनेको कृत्रिम ताल फुट्ने जोखिम देखिएपछि प्रशासनले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पूर्वानुमान महाशाखाको विवरण सार्वजनिक गर्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।
प्राधिकरणका अनुसार चीनतर्फबाट परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणबाट भाद्र १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पुष्टि भएको छ। तालको पानीको सतह बढिरहेको र फुट्ने जोखिमसमेत देखिएको जनाइएको छ।
चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। तालबाट पानी बाहिर बग्नसमेत सुरु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
मन्त्रालयले आगामी तीन दिनमा तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरेको छ। पानीको मात्रा निरन्तर बढ्दै गएमा ताल फुटेर तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने जोखिम रहेको जनाइएको छ। प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न तथा उद्धार तथा सुरक्षा निकायको निर्देशन पालना गर्न सबैलाई आग्रह गरेको छ। साथै, रसुवा क्षेत्रमा उद्धारमा खटिएका सुरक्षा निकायलाई समेत सचेत रहन आग्रह गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्