काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि हालसम्म ७५२ वटा शव फेला परेका छन् भने २ हजार ७०२ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले आज (आइतबार) २ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको जनाएको हो । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २४९ वटा रहेका छन् । यी विवरणमा विभिन्न मानव अवशेषसमेत समावेश रहेको प्राधिकरणले जनाएको छ ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना रहेका छन् । यस्तै, रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । त्यसैगरी, जलविद्युत् आयोजनाबाट १३३ जना, मकवानपुरबाट ६५ जना तथा विदेशी नागरिक ५९२ जना सम्पर्कविहीन रहेको जनाइएको छ । विदेशी पर्यटक घुम्न गएका नेपाली १३७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टिन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
बाढी तथा पहिरोमा परी २३९ जना घाइते भएका छन् । घाइतेको उपचार तथा डिस्चार्जसम्बन्धी विवरण प्राधिकरणले सार्वजनिक गरेको छ भने प्रभावित क्षेत्रमा चारवटा शल्यचिकित्सा टोली परिचालन गरिएको जनाएको छ ।
यसैगरी, हालसम्म ६ हजार ८३० जनाको उद्धार गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जलविद्युत् आयोजनासहितका निकायबाट खोज तथा उद्धार कार्य भइरहेको छ । स्थलमार्ग अवरुद्ध भएका क्षेत्रमा हेलिकोप्टरमार्फत समेत उद्धारलाई निरन्तरता दिइएको छ । प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खाद्यान्न तथा गैरखाद्य सामग्री पठाउने, इन्धन उपलब्ध गराउने र नगद राहत वितरण गर्ने काम पनि भइरहेको छ । पहिचान खुल्न नसकेका शव विभिन्न जिल्लाका अस्पतालमा राखिएको र तिनको विवरण सुरक्षित राखिएको प्राधिकरणले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्