Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ सेवाग्राही लाभान्वित

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ सेवाग्राही लाभान्वित
विज्ञापन
Advertisement

खोटाङ । साकेला गाउँपालिकाले दसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा पाँच सय ८२ जना लाभग्राहीले सेवा लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि गाउँमा पुगेर सेवा दिने उद्देश्यले शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो ।

पालिकाले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको गाउँपालिकाका सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले जानकारी दिए । पालिकाले चाडपर्वको पूर्वसन्ध्यामा गाउँमा शिविर आयोजना गरेर भत्ता वितरण गरेपछि लाभग्राही हर्षित भएका छन् ।

साकेला–१ बाँझेच्यानडाँडाका एक सय ७८ जनालाई रु ३८ लाख २१ हजार, वडा नं २ रतन्छाका एक सय २३ जनालाई रु १८ लाख ५८ हजार, वडा नं ३ खिदिमाका ८८ जनालाई रु १३ लाख ३७ हजार, साकेला–४ मात्तिमका ७९ जनालाई रु १२ लाख ५९ हजार र साकेला–५ मात्तिमविर्ताका एक सय १४ जना लाभग्राहीलाई रु १८ लाख ८८ हजार वितरण गरिएको राईले जानकारी दिए ।

कतिपयले बैंकको मानेभञ्ज्याङ शाखाबाट समेत सामाजिक सुरक्षाभत्ता बुझिरहेका छन् । गाउँपालिकाले नेपाल एसबिआई बैंकको साकेला शाखासँगको सहकार्यमा सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।

शिविरस्थलमा उपस्थित भएर भत्ता बुझ्न नसक्ने लाभग्राहीले नेपाल एसबिआई बैंकको देशभरका जुनसुकै शाखाबाट पनि भत्ता लिनसक्ने गाउँपालिकाले जनाएको छ ।

बैंकिङ प्रणालीमार्फत त्रैमासिक रूपमा वितरण गर्नुपर्ने सामाजिक सुरक्षाभत्तालाई पालिकाले पहिलादेखि वडावडा पुगेर वितरण गर्दै आएको छ ।

भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण बैंकसम्म पुगेर भत्ता लिन समस्या हुने भएकाले घर पायकमा शिविर सञ्चालन गरेर वितरण गरिएको गाउँपालिकाका प्रमुख रविप्रकाश राईले बताए ।

दश स्थानीय तह रहेको जिल्लामा साकेला गाउँपालिकाले सबैभन्दा पहिले लाभग्राहीलाई बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको हो ।

कर्मचारीमार्फत वितरण गर्दा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाएपछि त्यसलाई रोक्न बैंकिङ प्रणाली लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा वडा रहेको) यो गाउँपालिकामा मृत्यु भइसकेका व्यक्ति, अन्यत्र बसाइँ सरिसकेका, नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षाभत्ता दुरूपयोग गरेको छानबिनका क्रममा फेला परेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit