काठमाडौं । रसुवा र नुवाकोटमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट जलविद्युत् आयोजनासहित भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रभावित सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको छ।
भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी कूल १२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। ती आयोजनाको कुल विद्युत् उत्पादन क्षमता ६६९ मेगावाट रहेको प्रारम्भिक विवरण छ । प्रभावितमध्ये ८ वटा सञ्चालनमा रहेका आयोजना २८१ मेगावाट क्षमताका छन् भने ४ वटा निर्माणाधीन आयोजना ३८८ मेगावाट क्षमताका छन्। बाढीका कारण ११ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त भएको र आयोजना तथा आसपासका क्षेत्रमा ८९४ जना सम्पर्कविहीन रहेको अवस्थामा बाढीबाट आयोजनाका संरचना, प्रसारण पूर्वाधार तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।
यही अवस्थालाई मध्यनजर गर्दै सेबोनले सोमबार ( १५ गते )नेप्सेलाई पत्र पठाउँदै विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विस्तृत सूची तयार गरी बोर्डलाई जानकारी गराउन निर्देशन दिएको हो । बोर्डले प्रभावित कम्पनीबाट आयोजनाको अवस्था, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा व्यवसायमा परेको प्रभावसम्बन्धी विवरण लिएर कम्पनीको आधिकारिक माध्यम तथा नेप्सेको सूचना प्रणालीमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउन भनेको छ ।
प्रभावित कम्पनीले आयोजनाको नाम र स्थान, विपद्को मिति तथा प्रकृति, प्रारम्भिक भौतिक क्षति, विद्युत् उत्पादन बन्द वा प्रभावित भएको अवस्था, प्रभावित उत्पादन क्षमता, मानवीय क्षति, प्रसारण तथा वितरण पूर्वाधारमा परेको प्रभाव लगायतका विवरण सार्वजनिक गर्नुपर्नेछ । त्यस्तै, आयोजनाको बीमा अवस्था, बीमा कम्पनीमा दाबी गरिएको वा नगरिएको विवरण, प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनःसञ्चालन हुन सक्ने अनुमानित समय, बैंक ऋण तथा ऋण सेवा क्षमतामा पर्न सक्ने सम्भावित प्रभाव र व्यवस्थापनले तत्काल चालेका कदम समेत सार्वजनिक गर्नुपर्ने बोर्डको निर्देशन छ ।
अस्वाभाविक कारोबारमा विशेष निगरानी
सेबोनले प्रभावित कम्पनीका धितोपत्रमा हुन सक्ने अस्वाभाविक गतिविधिमाथि समेत विशेष निगरानी राख्न पनि नेप्सेलाई निर्देशन दिएको छ । बाढीका कारण कम्पनीको वास्तविक अवस्थाबारे महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि अस्वाभाविक मूल्य परिवर्तन, असामान्य कारोबार परिमाण, अस्वाभाविक खरिद–बिक्री आदेश तथा असामान्य कारोबार भए–नभएको निरन्तर अनुगमन गर्न बोर्डले भनेको छ।यस्ता गतिविधिले बजारको निष्पक्षता तथा पारदर्शितामा असर पार्न सक्ने भएकाले आवश्यक निगरानी तथा कारबाही प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिइएको छ ।
विपद्का लागि छुट्टै कार्यविधि बनाउन निर्देशन
बोर्डले प्राकृतिक विपद्, दुर्घटना, आगलागी, भूकम्प तथा अन्य असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन असरलाई ध्यानमा राखी सूचना प्रवाह तथा धितोपत्र कारोबार रोक्का र पुनःसञ्चालनसम्बन्धी कार्यविधि तयार गर्नसमेत नेप्सेलाई निर्देशन दिएको छ । साथै, यस विषयमा भएको कार्यप्रगति तथा बजारमा देखिएका असामान्य गतिविधिसम्बन्धी विवरण नियमित रूपमा सेबोनलाई उपलब्ध गराउन भनिएको छ । भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनामा भएको क्षतिको प्रभाव कम्पनीहरूको उत्पादन, आम्दानी, वित्तीय अवस्था र ऋण तिर्ने क्षमतासम्ममा पर्न सक्ने भएकाले सेबोनको यो निर्देशनलाई लगानीकर्तालाई सजग गराउने तथा सम्भावित अस्वाभाविक कारोबार नियन्त्रण गर्ने प्रयासका रूपमा बुझिएको छ।















प्रतिक्रिया दिनुहोस्