काठमाडौं। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक प्रभावित भएका छन्। पर्यटक प्रहरीले तयार पारेको विवरणअनुसार सोमबार साँझ साढे ६ बजेसम्म ७४७ जना पर्यटक अझै सम्पर्कविहीन रहेका छन्।
सम्पर्कविहीन रहेका ७४७ जनामध्ये ५८३ जना विदेशी नागरिक र १६४ जना नेपाली छन्। बेपत्ता हुने विदेशी नागरिकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक १८३ जना छन्। यस्तै, अमेरिकी ६४, मलेसियन ५५, युक्रेनी ५४ र अष्ट्रेलियन ३५ जना सम्पर्कविहीन रहेका छन्। त्यसैगरी क्यानडाका ३०, लाटवियाका ३३, चीनका २५, बेलायतका ३३ र जर्मनीका ८ जना पर्यटक पनि बेपत्ताको सूचीमा छन्। पर्यटक प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा ३८९ पुरुष, ३५६ महिला र २ जना अन्य रहेका छन्।
बाढीमा फसेका २९९ जनाको भने सुरक्षाकर्मी तथा उद्धार टोलीले सफल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये २५१ पुरुष र ४८ महिला रहेका छन्। उद्धार गरिएकाहरूमा भारत, चीन, जर्मनी र रुसलगायत विभिन्न देशका नागरिक रहेका छन्। यस्तै, ५ जना पर्यटक सम्पर्कमा आएका छन्, जसमा २ पुरुष, २ महिला र १ अन्य रहेका छन्। बेपत्ता पर्यटकको खोजी तथा उद्धारका लागि विभिन्न ट्रेकिङ एजेन्सीसँग समन्वय गरी खोजी कार्यलाई तीव्रता दिइएको छ।
ट्रेकर्स सोसाइटी, रिच ट्रेक्स, सम्राट ट्रेक्स र हिमालयन ग्लेसियरसँगको समन्वयमा प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको पर्यटक प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिबारे थप जानकारी लिन वा कुनै सूचना उपलब्ध गराउन पर्यटक प्रहरीले [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ। भोटेकोशी बाढीका कारण रसुवाको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ। घटनापछि अन्तर्राष्ट्रिय जगतको ध्यानसमेत यस दुखद घटनातर्फ केन्द्रित भएको पर्यटन विभागले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्