काठमाडौं । स्तन क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ।
इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालको सहकार्यमा आयोजना गर्न लागेको उक्त पदयात्रा आगामी असोज १७ गते शनिबार बिहान ६ बजे सुरु हुनेछ। पिंकवाक काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु भई ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पुग्नेछ। कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।
स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारको महत्वबारे समुदायमा सन्देश पुर्याउनु पिंकवाकको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ। साथै, क्यान्सर उपचार तथा पुनःस्थापनाको क्रममा रहेका व्यक्ति र उनीहरूका परिवारलाई सामाजिक तथा भावनात्मक सहयोग आवश्यक रहेको सन्देशसमेत कार्यक्रममार्फत प्रवाह गरिनेछ।
इन्फिनिट केयर्सकी इकाई प्रमुख दिजुप तुलाधरले पिंकवाकलाई केवल पदयात्राका रूपमा नभई सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभियानका रूपमा अघि बढाउन खोजिएको बताइन् । उनले स्तन क्यान्सरका विषयमा खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नु, प्रारम्भिक पहिचानको महत्व बुझाउनु तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारको साथमा समुदायलाई उभ्याउनु अभियानको प्रमुख उद्देश्य रहेको बताइन् । साथै, उनले सबैलाई पिंकवाकमा सहभागी भएर अभियानलाई सफल बनाउन आग्रह गरिन् ।
पिंकवाक २०२६ क्यान्सर केयर नेपाल, नेशनल अस्पताल तथा क्यान्सर सेन्टर, आईएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, इसेवा, ह्याप्पी माइन्डस् र डब्लूओडब्लू (वर्ल्ड अफ वुमन) को साझेदारीमा आयोजना हुँदैछ। कार्यक्रममा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ।पिंकवाकको पहिलो संस्करण २०८० असोजमा आयोजना भएको थियो। त्यतिबेला ६०० भन्दा बढी सहभागीले स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक सामग्रीसहित नक्सालस्थित नारायण चौरदेखि स्वयम्भूसम्म पदयात्रा गरेका थिए। दोस्रो संस्करणमार्फत पनि स्तन क्यान्सरको प्रारम्भिक पहिचान, जनचेतना, सामुदायिक सहभागिता तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।
पिंकवाक इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रालिको सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गतको सामुदायिक पहल हो। इन्फिनिट कम्प्युटर सोलुसन्सको नेपालस्थित सफ्टवेयर विकास तथा आईटी सेवा केन्द्रका रूपमा रहेको इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपालमा ६०० भन्दा बढी जनशक्ति कार्यरत छन्।
क्यान्सर केयर नेपालले नेपालभर क्यान्सरसम्बन्धी जनचेतना, रोकथाम, प्रारम्भिक पहिचान तथा क्यान्सर प्रभावित बिरामीलाई आवश्यक सहयोगका क्षेत्रमा काम गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्