काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ कार्यकालका लागि गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध निर्वाचित भएका छन्।
भक्तपुरको कमलविनायकस्थित एक होटलमा आइतबार सम्पन्न ‘अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्ट कन्भेन्सन–२०२६’ ले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। निर्धारित समयभित्र उम्मेदवारीमाथि कुनै दाबी–विरोध नपरेपछि सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्।
नयाँ कार्यसमितिमा विजय सत्याल गभर्नर इलेक्ट र मानबहादुर बस्नेत डेपुटी गभर्नर बनेका छन्। रिना श्रेष्ठ सचिव र ईश्वरीप्रसाद खनाल कोषाध्यक्ष चयन भएका छन्। कमलराम भट्टराई पार्लियामेन्टेरियन तथा रवीन्द्र थापा सर्जेन्ट एट आर्म्स निर्वाचित भएका छन्। लेफ्टिनेन्ट गभर्नरमा राधादेवी बोहोरा, रुस्मा गौतम, अरुणराज पाण्डे, अञ्जली रञ्जित श्रेष्ठ, प्रल्हाद दाहाल, शंकर राजबाहक, किरण तिवारी र ओमप्रकाश चौँलागाई चयन भएका छन्। कार्यकारी समिति सदस्यमा प्रदीप थापा, तारा सापकोटा, नोबेल डिसी, शिरीष भट्टराई, उज्ज्वल शशी भण्डारी र कमल सुवार निर्वाचित भएका छन्।
यसअघि एसिया डिस्ट्रिक्टको नेतृत्व गरेका प्रतापबहादुर थापा निवर्तमान गभर्नरका रूपमा नयाँ कार्यसमितिमा रहनेछन्। थापाले नयाँ नेतृत्वले अप्टिमिस्टको अभियानलाई थप विस्तार गर्दै समुदायमा सकारात्मक सोच, आशा र सामाजिक उत्तरदायित्वका गतिविधिलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। दुईदिने कन्भेन्सनमा संस्थाको गतिविधि समीक्षा, आगामी कार्ययोजना, संस्थागत विकास, नेतृत्व हस्तान्तरण तथा सदस्यता विस्तारका विषयमा छलफल भएको थियो। कार्यक्रममा रचनात्मक पत्रकारिता, पुँजीबजार तथा व्यक्तिगत उत्प्रेरणासम्बन्धी सत्रसमेत सञ्चालन गरिएको थियो।
कन्भेन्सनमा एनआरएन इन्फ्रास्ट्रक्चरका प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँल, उत्प्रेरक वक्ता रमन भट्टराईलगायतले विभिन्न विषयमा प्रस्तुति दिएका थिए। अप्टिमिस्ट इन्टरनेसनलले सन् २०२० नोभेम्बर १७ मा नेपाल डिस्ट्रिक्टलाई औपचारिक मान्यता दिएको थियो। नेपाल डिस्ट्रिक्ट उत्तर अमेरिकाबाहिर स्थापना भएको अप्टिमिस्ट इन्टरनेसनलको पहिलो डिस्ट्रिक्ट भएको जनाइएको छ।















प्रतिक्रिया दिनुहोस्